केराबारी—मोरङको केराबारी गाउँपालिकामा रहेका सार्वजनिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूले गाउँपालिकालाई एक ४ बुँदे ज्ञापन पत्र बुझाएका छन्। छिमेकी पालिकाहरूबाट केराबारी गाउँपालिकाको कार्यक्षेत्र भित्र प्रवेश गर्ने अन्य विद्यालयका बसहरूलाई पूर्ण रूपमा रोक लगाउन माग गर्दै उनीहरूले बुधबार गाउँपालिकाका अध्यक्ष सुमन मिरिंगचिंग मगरलाई कार्यकक्षमै भेटेर ज्ञापन पत्र बुझाएका हुन्।
ज्ञापन पत्रमा शैक्षिक वर्ष २०८२ को परीक्षाफललाई विचार गरी पालिका भित्र आवश्यक शैक्षिक सुधारको योजना अघि बढाउन माग गरिएको छ। यसका साथै केराबारीका विद्यार्थीहरू बाहिरिने क्रमलाई रोक्नका लागि आवश्यक पहल कदमी चाल्न र संस्थागत विद्यालयहरूको उपयुक्त ग्रेडिङसहित वैज्ञानिक शुल्क निर्धारण गर्न स्थानीय सरकारसँग आग्रह गरिएको छ।
शिक्षक तथा प्रधानाध्यापकहरूको टोलीले गाउँपालिकाको शिक्षा समिति मार्फत विद्यालयका शैक्षिक गतिविधिहरूको अनुगमन कार्यलाई नियमित बनाउन समेत जोड दिएका छन्। ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष मगरले उठाइएका मागहरूका सम्बन्धमा आवश्यक छलफल र प्रक्रिया अगाडि बढाउने आश्वासन दिएका छन्।




















