काठमाडौं — नेकपा (एमाले)ले औपचारिक रूपमा ‘युथ भोलेन्टियर फोर्स’ गठन गरेको छ। आइतबार भक्तपुरको गुण्डुमा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलाबाट उक्त फोर्सको घोषणा गरिएको हो।
कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उहाँकी श्रीमती राधिका शाक्यको उपस्थिति रहेको थियो।
युवा संघ नेपालका पूर्वअध्यक्ष महेश बस्नेतले कार्यक्रममा बोल्दै युथ भोलेन्टियर फोर्सका लागि आचारसंहिता तयार गरिएको बताए। उनका अनुसार भक्तपुरपछि ललितपुर, काठमाडौं, काभ्रे, रामेछाप लगायतका जिल्लामा पनि क्रमशः यो फोर्स गठन गरिँदैछ।
“भक्तपुरमा पहिलो पटक युथ भोलेन्टियर फोर्सको घोषणा गरेका छौं। यो अभियानमा मधेश, पहाड र हिमालका युवाहरूको सहभागिता छ,” बस्नेतले भने।
उनका अनुसार केपी शर्मा ओली गुण्डुमा बस्न थालेपछि दुई महिनादेखि युवा टोली त्यस क्षेत्रमा सक्रिय छ। “दुई महिनामा दुई हजार युवा खटे। गुण्डुवासीको तर्फबाट कुनै गुनासो आएको छैन,” उनले दाबी गरे।
बस्नेतले पुष्प श्रेष्ठ, अमित पौडेल लगायतले समन्वय भूमिका निर्वाह गरिरहेको जानकारी दिए। उनका अनुसार युवा संघ नेपाल, भूपू सैनिक संगठन र एमाले भक्तपुर समितिले समेत नेताहरूको सुरक्षामा सहयोग गरिरहेका छन्।
विगतमा युथ फोर्स गठन गरेर माओवादीको आतंक अन्त्य गर्न भूमिका खेलेको स्मरण गर्दै बस्नेतले अहिलेको युथ भोलेन्टियर फोर्स पनि “सबै खालका अराजकता विरुद्ध” काम गर्ने बताए।




















