विराटनगर— मोरङको विराटनगर महानगरपालिका–४ स्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा एक जना इन्टर्न डाक्टरको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार बिहान करिब ६ः३० बजे अस्पतालको मुख्य गेट नजिक रहेको भवनको पाँचौँ तलाबाट लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल नोबेल मेडिकल कलेजको इमर्जेन्सी कक्षमा लगिएको थियो। टाउकोमा गम्भीर चोट लागेका उनको उपचारकै क्रममा बिहान ७ः२५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनाको जानकारी अस्पतालमा खटिएका प्रहरी कर्मचारीमार्फत प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वमा टोली घटनास्थलमा खटिएको थियो। प्रारम्भिक रूपमा मृतकको पहिचान खुल्न नसके पनि थप अनुसन्धानपछि सप्तरी जिल्ला राजविराज नगरपालिका–९ जगदरी निवासी ३४ वर्षीय अमित यादव रहेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यादव नोबेल मेडिकल कलेजमा १०औँ ब्याचका एमबिबिएस इन्टर्न डाक्टरका रूपमा अध्ययनरत थिए। मृतकका बाबु शम्भु प्रसाद यादवले छोराले मनोरोगसँग सम्बन्धित समस्या भोग्दै आएको र चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गरिरहेको जानकारी दिएका छन्।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।