मोरङ — मोरङको सुन्दरहरैचा नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक बालक गम्भीर घाइते भएका छन्।
सुन्दरहरैचा–६ मा घरमै सुतिरहेको अवस्थामा जंगली हात्तीले आक्रमण गर्दा बालक गम्भीर घाइते भएको स्थानीयले बताएका छन्। आक्रमणपछि घाइते बालकलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको छ।
हात्तीले उक्त क्षेत्रका केराखेतीसहित विभिन्न भौतिक संरचनामा समेत क्षति पुर्याएको छ। स्थानीयवासीका अनुसार पछिल्लो समय बस्ती नजिकै हात्तीको आवतजावत बढ्दै गएको छ, जसले त्रास फैलिएको छ।
यसअघि केही दिनअघि मात्रै सुन्दरहरैचा–१२ मा पनि हात्तीको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको थियो। लगातार भइरहेका घटनाप्रति स्थानीयले वन प्रशासन र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै तत्काल सुरक्षाका उपाय अपनाउन माग गरेका छन्।




















