केराबारी— साविक करदाता सेवा कार्यालयबाट प्रदान हुँदै आएका सेवाहरू अबदेखि मोरङको केराबारी गाउँपालिकाको कार्यालयबाटै उपलब्ध हुने भएको छ ।
उक्त सेवाको नेपाल सरकारका अर्थ तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एक कार्यक्रमकाबीच उदघाटन गरेका हुन्।
कार्यक्रममा मन्त्री खनालले केराबारीबाट सुरु गरिएको यो अभ्यासलाई क्रमशः देशभर विस्तार गरिने बताए ।
यस अवसरमा उनले ‘दि–भाइब्स क्याफे एण्ड रेष्ट्रो’ की सञ्चालक पवित्रा खवासलाई व्यवसायिक प्रमाणपत्र तथा चित्रकुमार तामाङलाई व्यक्तिगत स्थायी प्यान लेखा नम्बर परिचयपत्र हस्तान्तरण गरेका थिए ।
केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री खनाल प्रमुख अतिथिका रूपमा सहभागी थिए। स्थानीय तहबाटै करदाता सेवा प्रवाह सुरु भएसँगै अब सेवाग्राहीले टाढा जानुपर्ने बाध्यता हट्ने र सेवा थप सहज हुने अध्यक्ष मिरिङचिङले बताए।
कार्यक्रममा नेपाल सरकार अर्थ मन्त्रालयका सचिव भूपाल बराल, सहसचिव उत्तरकुमार श्रेष्ठलगायत सम्बन्धित मन्त्रालय तथा कार्यालयका पदाधिकारीहरूको विशिष्ट आतिथ्यता रहेको थियो। साथै गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगर, प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठ, जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका स्थानीय नेताहरू, आम नागरिक र विद्यार्थीहरूको उल्लेख्य सहभागिता थियो।
कार्यक्रमको अन्त्यमा अध्यक्ष मिरिङचिङले कार्यक्रमका प्रमुख अतिथि लगायत विशिष्ट अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।
यसअघि केराबारीका सेवाग्राहीहरूले करदाता सेवा लिनका लागि सुन्दरहरैँचाको विराटचोकस्थित कार्यालय पुग्नुपर्ने बाध्यता रहेको थियो। अब सेवा गाउँपालिकाबाटै सुरु भएपछि स्थानीय नागरिकलाई ठूलो राहत पुगेको स्थानीय युवा संगम कन्दंगवाले बताए।
नेपाल सरकारले गत कार्तीक ७ गते करदाता सेवा कार्यालय हटाएर त्यहाँबाट दिइँदै आएका सेवाहरू स्थानीय तहबाटै उपलब्ध गराउने निर्णय गरेकोमा केराबारी गाउँपालिका र आन्तरिक राजस्व कार्यालय विराटनगरबीच द्विपक्षीय सहमति भएको थियो ।



























