विराटचोक—मोरङको बेलबारी नगरपालिका–६ बाहुनी घरका ४० वर्षीय गणेश साह गुप्ताले आफ्नै सासूको हत्या गरेका छन्। छोरी–ज्वाइँबीचको विवाद मिलाउन खोज्दा सासूको ज्यान गएको हो।

प्रहरीका अनुसार भोजपुरबाट छोरी भेट्न इटहरी उपमहानगरपालिका–९ बीपी चोकस्थित ज्वाइँको डेरामा आएकी ५६ वर्षीया पविमाया बयलकोटीमाथि आइतबार साँझ गुप्ताले आक्रमण गरेका थिए। छोरी–ज्वाइँबीच झगडा भएपछि सम्झाउन खोज्दा विवाद चर्किएको र सोही क्रममा पानी तान्ने ट्युबेलको ह्याण्डिलले टाउकोमा प्रहार गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

गम्भीर घाइते बयलकोटीलाई उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल मोरङ लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिए।

प्रहरीका अनुसार बयलकोटी उपचारपछि सोमबार घर फर्कने तयारीमा थिइन्। छोरी–ज्वाइँबीच दिनहुँजसो झगडा हुने गरेको र सासूले ज्वाइँलाई सम्झाउन खोज्दा घटना भएको बताइएको छ।

घटनामा संलग्न गुप्तालाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।