वासिङ्टन—अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२६ को मध्यावधि निर्वाचनमा अमेरिकी प्रतिनिधि सभामा नियन्त्रण गुमेमा डेमोक्र्याटहरूले आफूलाई महाभियोग लगाउने प्रयास गर्ने चेतावनी रिपब्लिकन सांसदहरूलाई दिएका छन्।

बुधबार वासिङ्टनमा आयोजित हाउस रिपब्लिकन ककस रिट्रीटमा सम्बोधन गर्दै ट्रम्पले आफ्नो राजनीतिक भविष्य पार्टीको २०२६ को निर्वाचन प्रदर्शनमा निर्भर रहेको बताए। उनले रिपब्लिकन पार्टीले प्रतिनिधि सभामा रहेको आफ्नो सानो बहुमत जोगाउन नसके डेमोक्र्याटहरूले उनलाई महाभियोग लगाउने दाबी गरे।

ट्रम्पले भने, रिपब्लिकन पार्टीले प्रतिनिधि सभाको नियन्त्रण गुमाए डेमोक्र्याटहरूले कुनै न कुनै बहाना खोजेर महाभियोग प्रक्रिया सुरु गर्नेछन्। उनले मध्यावधि निर्वाचनको महत्वमा जोड दिँदै यसलाई आफूविरुद्ध हुने राजनीतिक रूपमा प्रेरित कारबाही रोक्न अत्यावश्यक भएको बताए।

“तपाईंहरूले मध्यावधि निर्वाचन जित्नै पर्छ, किनकि यदि हामीले जितेनौँ भने, उनीहरूले मलाई महाभियोग लगाउने कुनै कारण अवश्य खोज्नेछन्। म महाभियोगमा पर्छु,” ट्रम्पले सांसदहरूलाई भने।

ट्रम्पले स्पष्ट पारे कि यी निर्वाचनहरू केवल आफ्नो नीति र एजेन्डा अघि बढाउने विषय मात्र नभई, कांग्रेसबाट फेरि हुने सम्भावित चुनौतीहरूबाट आफ्नो राष्ट्रपतिकाल जोगाउने विषय पनि हुन्। एजेन्सी