कराकस—अमेरिकाले गत शनिबार भेनेजुएलामा गरेको सैन्य आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु भएको खुलेको छ । आक्रमणपछि ६ दिन बितिसक्दा भेनेजुएलाका गृहमन्त्री डियोसदादो क्याबेलोले उक्त तथ्यांक सार्वजनिक गरेका हुन् ।
क्याबेलोका अनुसार शनिबार अमेरिकी सेनाले १५० वटाभन्दा बढी लडाकू विमान प्रयोग गरी राजधानी कराकसमा आक्रमण गरेको थियो । प्रारम्भिक विवरणमा ४० जनाको मृत्यु भएको भनिए पनि पछिल्लो अद्यावधिक विवरणअनुसार मृतक संख्या एक सय पुगेको उनले बताए ।
मृतकहरूमध्ये अधिकांश राष्ट्रपति निकोलस मदुरोको सुरक्षामा खटिएका सुरक्षाकर्मी र गुप्तचर रहेको क्याबेलोको दाबी छ ।
आक्रमणकै क्रममा अमेरिकी सेनाले राष्ट्रपति मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएर न्यूयोर्क पुर्याएको बताइएको छ । त्यसक्रममा अमेरिकी सेना मदुरोको निवासमै अवतरण गरेको थियो । त्यसभन्दा अघि अमेरिकी सेनाले मुख्य सैनिक अड्डा ‘फोर्तुना’मा बम प्रहार गरेको जनाइएको छ ।
यसैबीच, क्युबाले भेनेजुएलामा खटाइएका आफ्ना ३२ जना सुरक्षाकर्मी तथा गुप्तचर अमेरिकी हमलामा मारिएको पुष्टि गरिसकेको छ । क्युबाली सुरक्षाकर्मीको संख्या जोड्दा भेनेजुएलाका मात्रै कम्तीमा ६८ जनाको मृत्यु भएको पुष्टि हुन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कारबाहीमा प्रयोग गरिएका १५० लडाकू विमानमध्ये एउटामा क्षति पुगेको स्वीकार गरेका छन् । यद्यपि क्षति पुगेको विमान उडानयोग्य अवस्थामा रहेको अमेरिकी सेनाले जनाएको छ ।




















