काठमाडौं—चर्चित बॉलीवुड हास्य अभिनेता राजपाल यादव अहिले तिहाड जेलमा रहेका छन् । उनी चेक बाउन्स मुद्दा र ऋण विवादका कारण जेल पुगेको हो।

राजपालले २०१० मा आफ्नो फिल्म “अत्ता पत्ता लपत्ता” निर्माण गर्न करिब ५ करोड भारतीय रुपैयाँ ऋण लिएका थिए । फिल्मले व्यावसायिक सफलता नपाउँदा उनी ऋण फिर्ता गर्न असमर्थ भए । अदालतमा पेश गरिएका चेकहरू बारम्बार बाउन्स भएपछि कानुनी प्रक्रिया तीव्र बन्यो।

अन्ततः अदालतले उनलाई निर्दिष्ट समयभित्र ऋण तिर्न नसके जेल सजाय सुनाएको हो। बकाया ऋण र ब्याजसमेत मिलाएर उनको कुल जिम्मेवारी करिब ९ करोड रुपैयाँ पुगेको अनुमान गरिएको छ।

राजपाल यादवले अदालतमा आफूलाई आर्थिक रूपमा असक्षम भएको र ऋण तिर्न नसकेको बताएका थिए। यस घटनापछि उनका समर्थक र फिल्म उद्योगका सहकर्मीहरूले सहयोगका लागि पहल गरेका छन्। अभिनेता सोनू सूदले पनि उनलाई सहयोग गर्ने आश्वासन दिएका छन्।