दैलेख — दैलेखको दुल्लू नगरपालिका–४ शान्ति बजारमा चक्कु प्रहारबाट एक किशोरको मृत्यु भएको छ। फुटबल खेलेर घर फर्किँदै गरेका १६ वर्षीय प्रकाश खनालमाथि आक्रमण भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुल्लू नगरपालिका–१० गमौडीका १९ वर्षीय मुकुन्द शाही र १९ वर्षीय विभूषण शाहीलाई नियन्त्रणमा लिएको छ। तीन जनाबीच विवाद भएपछि घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गम्भीर घाइते खनालको दुल्लू अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। घटनापछि फरार भएका दुवैजनालाई प्रहरीले घटनास्थलबाट करिब १० किलोमिटर टाढा चामुण्डा क्षेत्रको जंगलबाट पक्राउ गरेको बताइएको छ। अनुसन्धान जारी रहेको छ।



















