ढाका—बंगलादेशको नेसनल सिटिजन्स पार्टी (एनसिपी)ले मतगणनामा अनियमितता भएको आरोप लगाएको छ। एनसिपी तत्कालीन प्रधानमन्त्री शेख हसिनाविरुद्ध विद्यार्थी आन्दोलनबाट स्थापित पार्टी हो, तर पहिलो निर्वाचनमा कमजोर प्रदर्शन गर्दै मात्र ६ सिट जित्ने देखिएको छ।

एनसिपी प्रवक्ता आशिफ महमुदले पत्रकार सम्मेलनमा ढाका–१३, ढाका–१५, ढाका–१७, ढाका–१९ र ढाका–११ क्षेत्रमा मतगणनामा गडबडी भएको दाबी गरेका छन्। उनका अनुसार केही मतदान केन्द्रमा पूर्ण मतगणना नहुँदै विजेता घोषणा गरिएको छ भने कतिपय मतपत्रमा तोकिएको चिन्हभन्दा बाहिर छाप लगाइएर गणनामा समावेश गरिएको छ।

एनसिपीले विवादित क्षेत्रको मतगणना पुनःजाँच, आवश्यक परे पुनःप्रमाणीकरण र निष्पक्ष ढंगले अन्तिम नतिजा सार्वजनिक गर्न निर्वाचन आयोगसँग माग गरेको छ। आयोगले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएका छैनन्।

निर्वाचन परिणाम अनुसार बंगलादेश नेश्नलिस्ट पार्टी (बिएनपी) विजयी भएको छ र पार्टी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित भएका छन्। तारिक पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका जेठा छोरा हुन्।