काठमाडौं— काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा अब सबै पालिकाको वित्तीय र व्यवस्थापकीय साझेदारी रहने भएको छ। उपत्यका मेयर्स फोरमको बैठकले यस्तो निर्णय गरेको हो।
यसअघि काठमाडौं महानगरपालिका ले मात्र फोहोर व्यवस्थापनको एकल भार बोक्दै आएकोमा अब उपत्यकाका सबै स्थानीय तहले मिलेर आर्थिक तथा व्यवस्थापकीय काम गर्ने भएका हुन्।
बञ्चरेडाँडा ल्यान्डफिल साइट मा काठमाडौंसहित आधा दर्जन जिल्लाका दुई दर्जन पालिकाको फोहोर विसर्जन हुँदै आएको छ। ढुवानी कार्य सम्बन्धित पालिका र निजी क्षेत्रबाट हुँदै आए पनि साइट व्यवस्थापन भने काठमाडौं महानगरपालिकाले मात्र गर्दै आएको थियो।
तर, हिजो कार्यवाहक मेयर सुनिता डंगोल सहितको उपस्थितिमा बसेको बैठकले अबदेखि उत्पादित फोहोरको मात्राका आधारमा सम्बन्धित पालिकाले नै खर्च व्यहोर्ने निर्णय गरेको हो। बैठकले फोहोरको वैज्ञानिक एवं दिगो व्यवस्थापनका लागि अध्ययन तथा समन्वय समिति गठन गर्ने निर्णयसमेत गरेको छ।
समितिले फोहोर व्यवस्थापनको विधि तथा प्रविधि अध्ययन गर्नुका साथै स्थानीय तहहरूबीच आवश्यकताअनुसार समन्वय, सहजीकरण र सामूहिक व्यवस्थापनको काम गर्नेछ।
यसैगरी सार्वजनिक यातायात सञ्चालनको दिगोपनाका लागि अघिल्ला अध्ययन प्रतिवेदनका तथ्य र सिफारिसको विश्लेषण गरी संघीय सरकारसँग सहकार्य गर्ने निर्णय पनि फोरमले गरेको छ।
फोरमले गोदावरी देखि बुढानीलकण्ठ सम्म साइकल लेनसम्बन्धी कानुन निर्माण गरी गुरुयोजना बनाउने तथा पूर्वाधार निर्माण र सञ्चालनका निम्ति सरकारसँग सहकार्य गर्ने निर्णयसमेत गरेको छ।





















