काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका जिल्ला सभापति भरत पराजुलीले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका छन्। रास्वपा मकवानपुरका संस्थापक सभापतिसमेत रहेका पराजुली पार्टी छोडेसँगै नेपाली कांग्रेस मा फर्किएका हुन्।
उनीलाई कांग्रेस सभापति गगन थापा ले सर्लाही–४ बाट पार्टीमा स्वागत गरेको कांग्रेस मकवानपुरका सचिव ईश्वर पाठकले जानकारी दिएका छन्। पराजुलीसँगै रास्वपाका मकवानपुर क्षेत्र नम्बर–२ का चुनावी संयोजक निराजन बर्तौलाले पनि कांग्रेस प्रवेश गरेका छन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजुली रास्वपाबाट मकवानपुर–२ मा उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनले १२ हजार ५९ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका थिए।
पार्टी परित्यागपछि पराजुलीले सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै वर्तमान नेतृत्वले स्थापना कालमा अघि सारेका युवा–केन्द्रित राजनीति, योग्यताका आधारमा नेतृत्व चयन, नातावाद–आशीर्वाद र आर्थिक प्रभावभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता विपरीत काम गरेको आरोप लगाएका छन्।
उनका अनुसार पछिल्लो समय पार्टीको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापना कालीन मूल्यमान्यता, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विचलित भएको छ। संगठनमा समर्पित नेता–कार्यकर्ताको उचित मूल्यांकन नभएको, विधि–विधान विपरीत गतिविधि बढेको र निर्णय प्रक्रियामा पारदर्शिता कमजोर बन्दै गएको अवस्थाले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमाथि प्रश्न खडा गरेको उनले बताएका छन्।
यतिखेर देशका विभिन्न स्थानमा रास्वपा परित्याग गर्ने को लहर चलेको छ ।


















