काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र फेरि एक नेताले पार्टी परित्याग गरेका छन् । बागमती प्रदेश समिति सदस्य तथा संघीय निर्वाचन परिचालन समिति सदस्य हरि चौलागाईंले पार्टी परित्यागको घोषणा गरेका हुन्।

चौलागाईंले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै रास्वपा “विरोधकै राजनीतिमा सीमित” भएको आरोप लगाएका छन्। व्यवहारिक कामभन्दा भाषणमा बढी केन्द्रित शैली आफूलाई स्वीकार्य नभएको उनको भनाइ छ।

उनका अनुसार पार्टीले जनताको प्रत्यक्ष सुख–दुःखसँग जोडिने, विकास र आर्थिक समृद्धिलाई प्राथमिकता दिने स्पष्ट कार्यदिशा अघि सार्नुपर्ने थियो, तर त्यसतर्फ ठोस पहल नदेखिएकाले आफूले पार्टी त्याग्ने निर्णय गरेको बताएका छन्।

लामो समयदेखि संगठन विस्तार र निर्वाचन परिचालनमा सक्रिय भूमिका खेलेका चौलागाईंको बहिर्गमनले बागमती प्रदेशमा रास्वपाको आन्तरिक स्थिति र रणनीतिमाथि थप प्रश्न उठाएको छ।