काठमाडौं—इरानका सर्वोच्च नेता नेता आयतोल्लाह अली खामेनीको निधन भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ। सरकारी प्रसारकका एक प्रस्तोताले भावुक हुँदै खामेनीको मृत्यु भएको घोषणा गरेका हुन्। सरकारलले उनको सम्मानमा ४० दिन राष्ट्रिय शोक तथा सात दिन सार्वजनिक बिदा घोषणा गरेको जनाइएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत खामेनी मारिएको दाबी गरेका थिए। तर त्यसबेला इरानबाट औपचारिक पुष्टि आएको थिएन। बरु इरानका विदेशमन्त्री Abbas Araghchi ले अमेरिकी सञ्चारमाध्यम एनबीसीसँगको कुराकानीमा खामेनी सुरक्षित र स्वस्थ रहेको बताएका थिए।
तर पछि इरानको राज्य टेलिभिजनले खामेनीको मृत्यु भएको घोषणा गरेको हो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसी र अलजजिराले पनि इरानी स्रोतलाई उद्धृत गर्दै निधनको समाचार प्रसारण गरेका छन्। इरानको फार्स र तस्निम समाचार एजेन्सीले पनि खामेनी शनिबार बिहान आफ्नो कार्यालयमा रहँदा मारिएको दाबी गरेका छन्।
को हुन् खामेनी?
८६ वर्षीय खामेनी सन् १९८९ देखि इरानका सर्वोच्च नेताका रूपमा कार्यरत थिए। इस्लामिक गणतन्त्र इरानका संस्थापक Ruhollah Khomeini को निधनपछि उनले उक्त जिम्मेवारी सम्हालेका थिए। सन् १९७९ को इस्लामिक क्रान्तिपछि स्थापित शासन व्यवस्थामा सर्वोच्च नेताको पद देशको सबैभन्दा शक्तिशाली पद मानिन्छ।
खामेनीसँग सरकारका सबै निकाय, सेना तथा न्यायपालिकामाथि अन्तिम अधिकार रहँदै आएको थियो। विशेषगरी Islamic Revolutionary Guard Corps (आईआरजीसी) र बासिज अर्धसैनिक बलमाथि उनको बलियो प्रभाव रहेको मानिन्छ।
उनको शासनकालमा इरानले पश्चिमी मुलुकहरूसँग तनावपूर्ण सम्बन्ध भोग्दै आएको थियो। अमेरिकामाथि कडा आलोचना गर्ने खामेनीले संयुक्त राज्यलाई इरानको प्रमुख शत्रुका रूपमा चित्रण गर्दै आएका थिए भने इजरायलप्रति पनि कठोर धारणा राख्दै आएका थिए।
क्षेत्रीय तनावको पृष्ठभूमि
हालै इजरायल–इरानबीच बढ्दो तनावका क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र रक्षा मन्त्री Israel Katz ले इरानी नेतृत्वविरुद्ध कडा अभिव्यक्ति दिएका थिए। इजरायली पक्षले खामेनीलाई लक्षित सैन्य रणनीतिबारे संकेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका थिए।
यसैबीच इरानी राष्ट्रपति मसुद पेजेस्कियान समेत पछिल्लो समय क्षेत्रीय द्वन्द्वका सन्दर्भमा अन्तर्राष्ट्रिय दबाबमा परिरहेका थिए।
खामेनीको निधनले मध्यपूर्वी राजनीति र विश्व शक्ति सन्तुलनमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ। अब इरानमा नयाँ सर्वोच्च नेता चयन प्रक्रिया सुरु हुने सम्भावना छ, जसले देशको आन्तरिक तथा बाह्य नीतिमा महत्वपूर्ण मोड ल्याउन सक्छ।



















