काठमाडौं—इराकको राजधानी बगदादमा अमेरिकी सेना र इरान समर्थित समूहबीच भएको भिडन्तमा कम्तीमा चार जनाको मृत्यु भएको छ।
अल जजिराका अनुसार इरान समर्थित समूहले प्रयोग गर्दै आएको एक भवनमा हवाई आक्रमण हुँदा उक्त क्षति भएको हो। साथै अमेरिकी दूतावासलाई लक्षित गर्दै ड्रोन आक्रमण पनि गरिएको बताइएको छ।
मंगलबार बिहान बगदादको जद्रियाह क्षेत्रमा रहेको भवनमा आक्रमण हुनुअघि ग्रीन जोनभित्र पर्ने अमेरिकी दूतावास नजिक विस्फोटको आवाज सुनिएको थियो।
भिडियो र तस्बिरहरूमा दूतावास आसपास आगो र धुवाँ उठेको देखिएको छ भने आकाशमा हवाई प्रतिरक्षा प्रणालीले ड्रोन खसालेको पनि देखिन्छ।
रोयटर्सका अनुसार दूतावासमा जडान गरिएको सी–आरएएम हवाई सुरक्षा प्रणालीले कम्तीमा दुईवटा ड्रोन खसालेको थियो भने अर्को एउटा ड्रोन परिसरभित्र खसेको थियो।
जद्रियाह क्षेत्रमा भएको आक्रमण पपुलर मोबिलाइजेशन फोर्सेस (पिएमएफ) को मुख्यालयका रूपमा प्रयोग हुँदै आएको घरमा लक्षित गरिएको थियो।
पिएमएफ, जसलाई ‘हश्द अल–शाबी’ पनि भनिन्छ, २०१४ मा आईएसआईएल विरुद्ध लड्न स्थापना गरिएको शिया अर्धसैनिक समूहहरूको छाता संगठन हो, जसका केही समूहहरू इरानसँग नजिक छन्।
रिपोर्ट अनुसार उक्त क्षेत्रमा रहेको रोयल टुलिप होटलको छतमा विस्फोटक बोकेको ड्रोन ठोक्किएको थियो।
यो होटल अमेरिकी दूतावास नजिकै रहेको र युरोपेली संघ तथा साउदी अरब लगायतका कूटनीतिक नियोगहरू तथा विदेशी तेल कम्पनीका कर्मचारीहरू बस्ने स्थानका रूपमा परिचित छ।
घटनापछि सुरक्षा बलहरू परिचालन गरिएका छन् र ग्रीन जोन वरिपरिका सडकहरू बख्तरबन्द गाडी र अवरोध राखेर बन्द गरिएको छ।
यस आक्रमणलाई त्यही दिन पश्चिमी अनबर प्रान्तको अल–काइम क्षेत्रमा पिएमएफ चेकपोइन्टमा भएको घातक हमलाको प्रतिकारका रूपमा हेरिएको छ, जसमा कम्तीमा आठ इराकी सैनिकको मृत्यु भएको थियो।
यसबाहेक, इराकको तेल पूर्वाधार पनि आक्रमणको निशानामा परेको छ। बसरास्थित मज्नून तेल क्षेत्रमा दुईवटा ड्रोनले आक्रमण गरेको बताइएको छ, यद्यपि त्यहाँ मानवीय क्षति भने भएको छैन।
इरान–अमेरिका–इजरायलबीच बढ्दो युद्धका कारण इराकको तेल उद्योगमा ठूलो असर परेको छ, विशेषगरी होर्मुज जलडमरू बन्द भएपछि तेल आपूर्ति अवरुद्ध भएको छ।



















