विराटचोक—मोरङको सुन्दरहरैँचा नगरपालिकाले युवाहरूलाई स्वरोजगार बनाउने उद्देश्यसहित ३० दिने निःशुल्क सिटी सफारी (विद्युतीय रिक्सा) मर्मत तालिम सञ्चालन गर्ने भएको छ।
नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै नगरभित्र स्थायी बसोबास गरिरहेका इच्छुक व्यक्तिहरूलाई आवेदन दिन आह्वान गरेको हो। स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने र दिगो व्यवसायतर्फ प्रेरित गर्ने लक्ष्यसहित कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार तालिम अवधि ३० दिनको हुनेछ। सहभागी हुन १८ देखि ४० वर्ष उमेर समूहका महिला तथा पुरुष दुवैले आवेदन दिन सक्नेछन्। साधारण लेखपढ गर्न जान्ने र व्यवसाय सञ्चालन गर्न इच्छुक व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ।
तालिममा २० देखि २५ जनासम्म सहभागी गराइनेछ। आवश्यकभन्दा बढी आवेदन परेमा अन्तर्वार्तामार्फत अन्तिम छनोट गरिने सूचनामा उल्लेख छ।
इच्छुक व्यक्तिहरूले चैत ३ गते प्रकाशित सूचनाको १५ दिनभित्र रोजगार सेवा केन्द्र, दुलारीमा पुगेर आवेदन दिनुपर्नेछ। आवेदनका साथ नेपाली नागरिकताको प्रतिलिपि, एक प्रति पासपोर्ट साइजको फोटो र स्थायी बसोबास खुल्ने कागजात पेस गर्नुपर्नेछ।
पछिल्लो समय सिटी सफारीको प्रयोग बढ्दो भए पनि यसको मर्मतका लागि दक्ष जनशक्ति अभाव देखिँदै आएको छ। यसलाई मध्यनजर गर्दै नगरपालिकाले आफ्नै क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादन गरी युवाहरूलाई स्थानीयस्तरमै आम्दानीको अवसर दिने विश्वास लिएको मेयर केदारप्रसाद गुरागाईंले जानकारी दिए ।




















