गोरखपुर—भारतको उत्तरप्रदेश राज्य स्थित गोरखपुर मा आयोजित एक कार्यक्रममा एक मन्त्री भावुक बन्दै मञ्चमै धुरुधुरु रोएका छन्। निषाद पार्टीका राष्ट्रिय अध्यक्षसमेत रहेका तथा उत्तर प्रदेश सरकारका मन्त्री संजय निषादले भाषणका क्रममा आँसु झारेका हुन्। 

निषाद समुदायलाई आरक्षणको माग गर्दै महन्त दिग्विजय नाथ पार्कमा आयोजित विशाल महार्‍यालीमा आसपासका जिल्लाबाट हजारौँ कार्यकर्ता सहभागी भएका थिए। हातमा प्लेकार्ड र पार्टीका झण्डा बोकेका समर्थकहरूले आफ्ना नेतालाई भव्य स्वागत गरेका थिए।

मोटरसाइकल र्‍यालीमार्फत कार्यक्रमस्थल पुगेका निषादलाई मञ्चसम्म पुग्ने र्‍याम्पमा कार्यकर्ताहरूले फूल वर्षा गर्दै अभिनन्दन गरेका थिए। सम्बोधनका क्रममा उनले उपस्थित जनसमुदायप्रति आभार व्यक्त गर्दै यो भीड भाडामा ल्याइएको नभई संघर्षशील जनताको शक्ति भएको बताए। उनले आगामी दिनमा प्रदेशभर ठूलो जनआन्दोलन निर्माण गर्ने र समाजको आवाज अझ सशक्त रूपमा उठाउने बताए।

भाषणका क्रममा उनले आफूलाई समाजको आवाजका रूपमा प्रस्तुत गर्दै सदनमा उठाइएका मुद्दाहरूको प्रभाव देखिने गरेको दाबी गरे। विपक्षी दलतर्फ संकेत गर्दै केही शक्तिहरूले वर्षौँसम्म निषाद समुदायलाई अधिकारबाट वञ्चित राखेको आरोप पनि लगाए।

यसै क्रममा उनी अत्यन्तै भावुक बनेका थिए। कार्यकर्तालाई सम्बोधन गर्दै उनका आँखाबाट आँसु झरेका थिए। उनले समाजका अधिकार दबाउने प्रयास भएको उल्लेख गर्दै अब समय परिवर्तन भएको र एकजुट भएर त्यसको जवाफ दिनुपर्ने बताए।

सभामा उनले समुदायका बालबालिकाको भविष्य र सुरक्षाका लागि सधैँ साथ रहने प्रतिबद्धता जनाए। साथै कार्यकर्तालाई घरदैलोमा पुगेर जनचेतना फैलाउन र पार्टीका सन्देश गाउँ–गाउँसम्म पुर्‍याउन आग्रह गरे। आफ्ना पुस्तक तथा आरक्षणसम्बन्धी विचारहरू पनि जनस्तरसम्म पुर्‍याउने उनको भनाइ थियो।

निषादले आफ्नो पार्टीका ११ जना विधायक रहेको जानकारी दिँदै समुदायका मुद्दाहरू निरन्तर रूपमा उठाइरहेको बताए। उनले अधिकारका लागि संघर्षलाई अझ तीव्र बनाउन सबैलाई एकजुट रहन आह्वान गरेका छन्। आजतक बाट