नयाँ दिल्ली—पश्चिम एसियामा जारी युद्धका कारण विश्वका विभिन्न मुलुक प्रभावित भइरहेका छन् । इन्धन तथा खाना पकाउने ग्यास आपूर्ति शृङ्खला नै युद्धका कारण प्रभावित भएको छ ।

यसै क्रममा भारतमा खाना पकाउने ग्याँसको अभावमा पूर्वनिर्धारित बिहे नै रोक्नु परेको खबर प्रकाशमा आएको छ ।

उत्तर प्रदेश राज्यको हापुडमा ग्यास सिलिन्डर अभावमा स्थानीय बिमलेशले आफ्नी छोरी शिवानीको विवाह नै रोकेका छन् । मुरादाबादका रितेशसँग शिवानीको बुधबार विवाह हुने निधो भएको थियो । यद्यपि अन्तिम समयसम्म पनि ग्यास उपलब्ध हुन नसकेपछि बुधबार बिहानै बिमलेशका तर्फबाट बेहुलाको घरमा सम्पर्क गरी जन्ती प्रस्थान कार्यक्रम रोक्न आग्रह गरिएको थियो ।

विवाह रोकिएको खबर स्थानीयस्तरमा फैलिएपछि कसैले बिमलेशलाई खाद्य आपूर्ति अधिकारीसँग भेट गरेर समस्या राख्न सुझाव दियो । त्यसपछि बिमलेशले सम्बन्धित कार्यालयमा पुगेर आफ्नो समस्या सुनाए ।

सीमा बालियान नाम गरेकी अधिकारीले बिमलेशको समस्या बुझेर विवाहका लागि आवश्यक ग्यासको प्रबन्ध गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिइन् । बिमलेशले बुधबार दिउँसो ग्यास त पाए, तर छोरीको विवाह स्थगित नै भयो । बेहुला पक्षले आफन्त र अन्य जन्तीलाई विवाह स्थगित भएको सूचित गरिसकेका कारण तत्काल जन्ती आउन नसक्ने भएसँगै सहमतिमै विवाह केही दिनका लागि सारिएको छ । आगामी शनिबार वैवाहिक समारोह आयोजना हुने जनाइएको छ ।