काठमाडौँ—पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीको रिहाइको माग गर्दै आयोजित विरोध प्रदर्शनमा सहभागी भएकी अमिशा पराजुलीले आफ्नो चरित्रहत्या गर्नेहरुविरुद्ध उजुरी दिन साइबर ब्यूरो पुगेकी छन्।
उनी आज आमा, दिदीलगायत परिवारका सदस्यसहित उजुरी दर्ता गर्न पुगेकी हुन्। उनका आफन्तका अनुसार उजुरी लेखिसकिएको छ र दर्ता गर्ने प्रक्रिया अघि बढिरहेको छ।
ओलीको पक्राउविरुद्ध नेकपा एमालेले आयोजना गरेको प्रदर्शनमा सहभागी भएपछि अमिशा सामाजिक सञ्जालमा लक्षित साइबर हिंसाको शिकार बनेकी छन्। उनलाई अनलाइन माध्यमबाट यौन हिंसाको धम्की दिइनुका साथै अश्लील शब्द प्रयोग गरी चरित्रहत्या गर्ने क्रम जारी रहेको बताइएको छ।
सामाजिक सञ्जालको दुरुपयोग गर्दै आफूलाई लक्षित गरेर गरिएका यस्ता गतिविधिमाथि कडा कारबाही गर्न अमिशाले सम्बन्धित निकायसँग माग गरेकी छन् ।



















