पथरी,३० चैत । पथरीशनिश्चरे १ स्थित पञ्चायत नमुना माध्यमिक विद्यालयद्वारा आयोजित "ओरेन्टेसन, मोटिभेसन कम ईक्ज्यामिनेसन बुस्ट अप प्रोगाम" आयोजना गरेको छ।
आज विहीबार एक कार्यक्रमका बीच पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले गमलाको फूलमा पानी हालेर उद्घाटन गरेका हुन्।
आगामी बैशाख -२६ गतेदेखि संचालन हुन गैरहेको कक्षा -१२ को परीक्षालाई मध्यजर गरी विद्यार्थीप्रति स्वअध्ययनका लागि उत्प्रेरित गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको भन्दै विद्यालयका प्राचार्य अर्जुनकुमार बुढाथोकीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए।
कार्यक्रममा उपस्थिति विद्यार्थीहरूलाई नेपालकै लोकप्रिय 'मोटिभेसनल स्पिकर ' सौनक भट्टले आफ्नो अध्ययन तर्फ कसरी ध्यान र रुचि बढाउँदै लाने र आफ्नो भावी लक्ष्यतर्फ ध्यानाकर्षण गर्ने भन्ने तरिका पनि सुझाएका थिए। उनले हरेक मानिसले सफलताको सिंढी चढ्ने क्रममा निरन्तर मेहेनत, एकाग्रता र लगनशीलता आवश्यक हुने प्रेरणा दिएका थिए।
कार्यक्रम विरेन्द्र मेमोरियल कलेज धरानको सहकार्य तथा पञ्चायत माध्यमिक विद्यालयको आयोजनामा भएको थियो।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष आईता कुमारी तुम्वापाे राईले अध्यक्षता गरेकी कार्यक्रमको उद्घाटन सत्रमा पथरीशनिश्चरे नगरकी उपप्रमुख देवी माया काफ्ले, धरानस्थित मेमोरियल कलेजका प्रिन्सिपल तारा बहादुर निरौला , शिक्षा, यूवा तथा खेलकूद शाखाका अधिकृत नवीन खुलाल, विद्यालयका सल्लाहकार सदस्य यूवराज बास्कोटा, समाजसेवी पर्शुराम मिश्र, लगायतको उपस्थिति रहेको थियो।
सोही अवसरमा प्राचार्य अर्जुनकुमार बुढाथोकीले वि.सं २०३६ सालमा पीपलको बोटमुनि जम्मा १७ जना बालबालिकालाई भेला पारेर पठनपाठन सुरु भएको सो विद्यालयमा बाल कक्षादेखि कक्षा १२ सम्ममा अहिले ३२ सय विद्यार्थीहरूले शिक्षा लिइरहेका जानकारी दिए।
उनले हाल उक्त विद्यालयबाट शिक्षा, मानविकी, व्यवस्थापन, विज्ञान,सिभिल इन्जिनियरिङ, कानुन, ललितकला र पत्रकारिता जस्ता पढाइ भैरहेको बताए। साथै, सो विद्यालय मोरङ जिल्लामै सबैभन्दा बढी ८ वटा विषयहरूमा पठनपाठन गराउँदै आउने विद्यालयको रूपमा परिचित कायम रहेको छ।
फरक क्षमता भएका अपाङ्गता मैत्री सिकाइ गराईरहेको सो विद्यालयले वि.स.२०७६ सालदेखि सिभिल इन्जिनियरिङ विषयमा कक्षा -९ देखि १२ सम्मका कक्षाहरू संचालन गरिएको छ भने सामुदायिक विद्यालयहरुबाट सो विद्यालयले काठमाडौँ बाहिर पहिलो पटक २०७७ सालदेखि कक्षा -११ मा ललितकला विषयमा पठनपाठन जारी राखेको बताए।
विद्यालयका विज्ञान संकायका प्रमुख तथा सहायक प्राचार्य बुद्धिनाथ अधिकारीले संचालन गरेकाे सो ओरेन्टेसन तथा मोटिभेसन कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो।




















