काठमाडौँ — इरानका विदेशमन्त्री अब्बास अराघचीले युद्धविराम अवधिभर हर्मुज जलडमरूमध्य खुला रहने बताएका छन्।
उनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत वक्तव्य जारी गर्दै बाँकी युद्धविराम अवधिभर उक्त जलमार्ग हुँदै हुने सबै व्यावसायिक जहाजहरूको आवतजावत निर्वाध रूपमा सञ्चालन हुने जानकारी दिएका हुन्। उनका अनुसार यो आवतजावत इरानको पोर्ट्स एन्ड मेरीटाइम अर्गनाइजेशनले निर्धारण गरेको समन्वित मार्गअनुसार हुनेछ।
अराघचीले लेबनानमा भएको युद्धविरामसँगै हर्मुज जलमार्ग सुरक्षित र खुला राख्ने निर्णय गरिएको स्पष्ट पारेका छन्।
यसअघि, यही साता संयुक्त राज्य अमेरिकाले हर्मुज जलमार्गमा नौसैनिक नाकाबन्दी सुरु गर्ने घोषणा गरेको थियो। त्यसको प्रतिक्रिया स्वरूप, गत फेब्रुअरीमा इरानले केही सातासम्म विश्वकै व्यस्त तेल ढुवानी मार्गलाई प्रभावकारी रूपमा बन्द गरेको थियो, जसले अन्तर्राष्ट्रिय बजारमा समेत असर पारेको थियो।
यस विषयमा अमेरिकी पक्षबाट भने हालसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन।
दुई सातासम्मका लागि भएको इरान–अमेरिका युद्धविराम आगामी अप्रिल २२ मा समाप्त हुने तय गरिएको छ।




















