काठमाडौं—प्रधानन्यायाधीश सिफारिस प्रकरणलाई लिएर नेपाल बार एसोसिएसनले आज आकस्मिक बैठक बोलाएको छ । संवैधानिक परिषद्ले गरेको सिफारिसप्रति असन्तुष्टि जनाउँदै बारले आफ्नो धारणा तय गर्न बैठक राखेको हो ।

बैठकमा बारका सल्लाहकार, संविधानविद्, कानुनविद् तथा पूर्वपदाधिकारीहरू सहभागी हुने जनाइएको छ ।

बिहीबार बसेको संवैधानिक परिषद् बैठकले सर्वोच्च अदालतका चौथो वरीयताका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

वरिष्ठता मिचिएको भन्दै उक्त निर्णयप्रति राजनीतिक दलदेखि न्यायिक क्षेत्रसम्म तीव्र प्रतिक्रिया देखिएको छ । बारका अधिकांश पदाधिकारी तथा पूर्वपदाधिकारीसमेत सिफारिस प्रक्रियाप्रति असन्तुष्ट देखिएका छन् ।

यस विषयमा राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे ले समेत असहमति जनाएका छन्।