जनकपुरधाम—श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादव का चालक मुस्तकिम आलम अपहरण, शरीर बन्धक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा पक्राउ परेका छन् ।
सप्तरी प्रहरीले दिएको जानकारीअनुसार महादेवा गाउँपालिका–१ घर भई हाल राजविराज–३ मा बस्दै आएका आलमलाई सोमबार राजविराजबाट पक्राउ गरिएको हो । उनी मन्त्री यादवको सचिवालयमा हलुका सवारी चालकका रूपमा कार्यरत रहेको बताइएको छ ।
पीडितको जाहेरीअनुसार मुस्तकिम मियाँसहितका व्यक्तिहरूले उनलाई जबर्जस्ती अपहरण गरी एकान्त स्थानमा लगेर शरीर बन्धक बनाएका थिए । त्यसक्रममा निर्घात कुटपिट गर्नुका साथै नग्न बनाएर भिडियोसमेत खिचिएको आरोप लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बरबहादुर पुरी ले घटनामाथि गम्भीर रूपमा अनुसन्धान भइरहेको बताएका छन् । प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्ति फरार रहेकाले उनीहरूको खोजी तीव्र पारिएको छ ।
आलमलाई सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।





















