काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाह ले आजको संसद बैठकमा नबोल्ने बुझिएको छ । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची सार्वजनिक भए पनि प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले संसदमा उत्तर दिने तयारी भएको स्रोतले जनाएको छ ।
संघीय संसद सचिवालयले आजको बैठकमा प्रधानमन्त्री शाहको जवाफपछि नीति तथा कार्यक्रम निर्णयार्थ पेश हुने कार्यसूची तय गरेको थियो । तर, हिजो सांसदहरूले उठाएका प्रश्नको उत्तर अर्थमन्त्री वाग्लेले दिने अवस्था बनेको बताइएको छ ।
रामचन्द्र पौडेल ले आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रम गत सोमबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए । राष्ट्रपतिले सम्बोधन गरिरहेकै बेला प्रधानमन्त्री शाह बैठक कक्षबाट बाहिरिएपछि उक्त घटनाको चौतर्फी आलोचना भएको थियो ।
हिजोको संसद बैठकमा पनि सांसदहरूले प्रधानमन्त्रीको उक्त व्यवहारबारे प्रश्न उठाएका थिए । छलफलमा उठेका जिज्ञासाको जवाफ प्रधानमन्त्री स्वयंले दिने कार्यसूची तय भए पनि अन्तिम समयमा अर्थमन्त्रीलाई जिम्मेवारी दिइएको चर्चा संसद परिसरमा सुरु भएको छ ।




















