काठमाडौँ—भारतीय न्यायालयको एउटा विवादास्पद टिप्पणीविरुद्ध युवाहरूले सामाजिक सञ्जालमा अनौठो डिजिटल विद्रोह सुरु गरेका छन्। न्यायाधीशले बेरोजगार तथा प्रणालीमाथि प्रश्न उठाउने युवाहरूलाई ‘साङ्ला’ (कक्रोच) र ‘परजीवी’ को संज्ञा दिएपछि त्यसकै विरोधस्वरूप ‘कक्रोच जनता पार्टी’ (CJP) नामक व्यङ्ग्यात्मक अभियान भाइरल बनेको हो।
भारतीय सर्वोच्च अदालतका एक न्यायाधीशले केही दिनअघि सामाजिक सञ्जाल, मिडिया र सूचना अधिकार (RTI) प्रयोग गर्दै राज्यप्रणालीमाथि प्रश्न उठाउने युवाहरूलाई ‘कक्रोच’ र ‘परजीवी’ सँग तुलना गरेका थिए। उक्त अभिव्यक्तिपछि ३० वर्षीय युवा अभिजीत दिपकेले एक्स (ट्विटर) मार्फत ‘कक्रोच जनता पार्टी’ को डिजिटल अभियान सुरु गरेका हुन्।
सुरुवातमा सामान्य मीम र व्यङ्ग्यका रूपमा देखिएको यो अभियान अहिले दक्षिण एसियाभर सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। अभियानको आफ्नै वेबसाइट, एआईद्वारा तयार गरिएको पार्टी गीत तथा व्यङ्ग्यात्मक सदस्यता प्रणाली समेत सार्वजनिक गरिएको छ।
पार्टीले सदस्यताका लागि केही अनौठा मापदण्ड पनि राखेको छ। जसअनुसार सदस्य बन्न अनिवार्य रूपमा बेरोजगार हुनुपर्ने, दिनमा कम्तीमा ११ घण्टा अनलाइन बस्न सक्ने तथा डिजिटल प्लेटफर्ममा निरन्तर गुनासो र बहस गर्न सक्ने हुनुपर्ने उल्लेख गरिएको छ। साथै “शारीरिक रूपमा अल्छी तर अनलाइनमा अत्यन्त सक्रिय” हुनुपर्ने व्यङ्ग्यात्मक सर्त पनि राखिएको छ।
यद्यपि, मीम र ठट्टाभन्दा बाहिर यो अभियानले गम्भीर राजनीतिक एजेन्डासमेत अघि सारेको छ। पार्टीको पाँचबुँदे घोषणापत्रमा न्यायाधीशलाई अवकाशपछि राजनीतिक नियुक्ति दिन रोक लगाउनुपर्ने, संसद र मन्त्रिपरिषद्मा महिलालाई ५० प्रतिशत आरक्षण सुनिश्चित गर्नुपर्ने, दल परिवर्तन गर्ने सांसदलाई २० वर्षसम्म चुनाव लड्न रोक लगाउनुपर्ने तथा सत्तापक्ष समर्थक पत्रकारहरूको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने माग राखिएको छ।
अभियानका संस्थापक अभिजीत दिपकेले सत्ता र शक्तिमा रहेका व्यक्तिहरूले सर्वसाधारण नागरिकलाई कीरा–फट्याङ्ग्रा जस्तो व्यवहार गर्ने गरेको आरोप लगाएका छन्। उनले “कक्रोचहरू सडेगलेको ठाउँमा जन्मिन्छन्, आजको राजनीतिक प्रणाली पनि त्यस्तै फोहोर बनेको छ” भन्दै सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्।
भारतका केही विपक्षी नेताहरूले समेत अभियानलाई समर्थन जनाइसकेका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार यो आन्दोलन नयाँ पुस्ताका युवाहरूले बेरोजगारी, राजनीतिक असन्तुष्टि र परम्परागत सत्ता संरचनाविरुद्ध आक्रोश व्यक्त गर्ने नयाँ डिजिटल शैलीका रूपमा विकसित भइरहेको छ।




















