काठमाडौं — नेकपा एमालेभित्र नेतृत्व रूपान्तरणको बहस तीव्र बन्दै गएको छ । सचिवालय बैठकमै अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको आवाज उठिरहेका बेला विद्यार्थी संगठन अनेरास्ववियुको बैठकमा समेत यही विषय प्रवेश पाएपछि केहीबेर तनावको अवस्था सिर्जना भएको छ ।
कीर्तिपुरमा सुरु भएको अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकमा उपमहासचिव कमलराज जोशीले पार्टी नेतृत्व परिवर्तनको मुद्दालाई औपचारिक एजेन्डा बनाउन माग गरेका थिए । उनले “संगठनलाई जीवन्त राख्न मुहान सफा गर्नैपर्छ” भन्दै नेतृत्व रूपान्तरण आवश्यक रहेको तर्क राखेका थिए ।
तर अध्यक्ष दिपक धामीले उक्त प्रस्तावलाई एजेन्डामा समावेश नगरेपछि बैठकमा चर्काचर्की र खैलाबैलाको अवस्था बनेको एक केन्द्रीय सदस्यले बताएका छन् । पछि केही सदस्यहरूले आफ्नो धारणा राख्न पाउनुपर्ने माग गरेपछि बैठक पुनः सञ्चालन भएको थियो ।
उता एमाले सचिवालय बैठकमा पनि नेतृत्व परिवर्तनको बहस झन् चर्किएको छ । उपाध्यक्षहरू गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त र विष्णु पौडेलले रूपान्तरणको आवश्यकता औंल्याएका छन् भने रामबहादुर थापा ‘बादल’ले संकटको बेला नेतृत्वको रक्षा गर्नुपर्ने बताएका छन् ।
उपमहासचिव योगेश भट्टराईले भने बैठकमै स्पष्ट रूपमा ओलीको राजीनामा माग गरेका छन् । लगातार दबाब बढेपछि ओलीले पनि आफू पछि हट्ने मनस्थितिमा नरहेको संकेत दिएका छन् ।
शनिबारको बैठकमा ओलीले नेताहरूलाई सम्बोधन गर्दै, “मलाई यसरी सम्झाएर सक्नुहुन्न, म यसरी छाड्दिनँ,” भनेको एक नेताले बताएका छन् ।
अब एमालेभित्रको नेतृत्व बहस सचिवालयबाट जनसंगठनसम्म पुगेपछि आगामी केन्द्रीय कमिटी बैठकलाई निर्णायक रूपमा हेरिएको छ ।




















