काठमाडौं—फिफा विश्वकप २०२६ को भव्य सुरुआत बिहीबार (जुन ११) देखि अमेरिका, क्यानडा र मेक्सिकोमा हुँदैछ। विश्वकपको पहिलो खेल मेक्सिको सिटीमा मेक्सिको र दक्षिण अफ्रिकाबीच हुनेछ।

यसपटक विश्वकप तीन फरक देशमा आयोजना हुन लागेकाले इतिहासमै पहिलोपटक तीनवटा छुट्टाछुट्टै 'ओपनिङ सेरेमोनी' (उद्घाटन समारोह) आयोजना गरिँदैछ। पहिलो खेल सुरु हुँदा नेपालमा जुन १२ (शुक्रबार) लागिसकेको हुनेछ। नेपाली समयअनुसार पहिलो खेल राति १२:४५ बजे सुरु हुनेछ।

मेक्सिकोमा पहिलो ओपनिङ सेरेमोनी मेक्सिको र दक्षिण अफ्रिकाबीचको खेल सुरु हुनुभन्दा ९० मिनेटअघि मेक्सिको सिटीमा पहिलो उद्घाटन समारोह हुनेछ। यसमा प्रख्यात गायिका शकिरा र बर्ना ब्वाय मुख्य कलाकारको रूपमा प्रस्तुत हुनेछन्। उनीहरूले प्रतियोगिताको आधिकारिक गीत 'डाई डाई' गाउनेछन्। नेपाली समयअनुसार यो समारोह जुन ११ को राति ११:१५ बजेदेखि हेर्न सकिनेछ।

अन्य प्रस्तुति: एलेहान्द्रो फर्नान्डेज, बेलिन्दा, ड्यानी ओसन, जे बाल्भिन, लिला डाउन्स, लस एन्जलस अजुलेस, माना र टाइला।

क्यानडामा दोस्रो ओपनिङ सेरेमोनी दोस्रो उद्घाटन समारोह क्यानडाको टोरन्टोमा हुनेछ। प्रतियोगिताको तेस्रो खेलमा क्यानडाले बोस्निया एन्ड हर्जगोभिनाको सामना गर्दैछ। उक्त खेलअघि जुन १२ को राति ११:१५ बजे (नेपाली समय) देखि यो समारोह सुरु हुनेछ।

कलाकारहरू: क्यानडाका चर्चित कलाकार माइकल बुब्ले, एलेसिया कारा र एलानिस मोरिसेट। यसका साथै प्यालेस्टाइनी-चिली गायिका एलियाना, फ्रान्सेली कलाकार वेजेड्रिम, जेसी रेयेज, नोरा फतेही, सञ्जय र विलियम प्रिन्सको पनि प्रस्तुति रहनेछ।

अमेरिकामा तेस्रो ओपनिङ सेरेमोनी अमेरिकामा पहिलो खेल जुन १३ मा लस एन्जलस स्टेडियममा अमेरिका र पाराग्वेबीच खेलिनेछ। यो खेल नेपाली समयअनुसार बिहान ६:४५ बजे सुरु हुनेछ। त्यसअघि बिहान ५:१५ बजेदेखि ओपनिङ सेरेमोनी सुरु हुनेछ।

कलाकारहरू: इन्टरनेसनल पप स्टार केटी पेरी मुख्य आकर्षण हुनेछिन्। उनीसँगै र्‍यापर फ्युचर, अनिता, लिसा, रेमा र टाइलाले पनि आफ्नो प्रस्तुति दिनेछन्।

नेपालमा कहाँ हेर्ने?

नेपाल तथा भारतका फुटबल फ्यानहरूले फिफा विश्वकपको ओपनिङ सेरेमोनी र खेलहरू 'युनाइट ८' (Unite8) स्पोर्ट्स च्यानलहरूमा प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्। यसका साथै 'जी फाइभ' (Zee5) एपमा पनि यसको लाइभ स्ट्रिमिङ हुनेछ।