काठमाडौँ — जिल्ला प्रशासन कार्यालय, काठमाडौँले फिफा विश्वकप फुटबल २०२६ का खेलहरू सामूहिक रूपमा प्रत्यक्ष प्रसारण (मास स्क्रिनिङ) गर्न पूर्वस्वीकृति अनिवार्य गरेको छ।

कार्यालयले बुधबार एक सूचना जारी गर्दै आगामी असार २९ गतेदेखि सुरु हुने विश्वकपका खेलहरू ठूलो पर्दामा प्रदर्शन गर्नुअघि प्रशासनबाट अनिवार्य अनुमति लिनुपर्ने जनाएको हो। रातिको समयमा खेल देखाउने बहानामा भीड जम्मा गरी शान्ति–सुरक्षा खलबल्याउने र समुदायमा असर पर्ने गतिविधिहरू रोक्न यस्तो निर्णय गरिएको प्रशासनले स्पष्ट पारेको छ।

प्रशासनको सूचनाअनुसार प्रत्यक्ष प्रसारणको अनुमति लिन चाहने संघसंस्था तथा कम्पनीले आवश्यक निवेदनको ढाँचा जिल्ला प्रशासन कार्यालय काठमाडौँको वेबसाइटबाट प्राप्त गर्न सक्नेछन्। प्राप्त निवेदनमा उल्लिखित सर्तहरूको अधीनमा रही सम्बन्धित संस्था वा कम्पनीको स्थान र सुरक्षा संवेदनशीलताको मूल्यांकन गरेपछि मात्र प्रशासनले अनुमति प्रदान गर्नेछ।

स्वीकृतिबिना विश्वकपको प्रत्यक्ष प्रसारणका नाममा भिडभाड गर्ने, अमर्यादित, उच्छृङ्खल, अवाञ्छित तथा गैरकानुनी गतिविधि सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता राम रिजालद्वारा जारी सूचनामा विश्वकप प्रतियोगिताका क्रममा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै शान्ति सुरक्षा कायम गर्न यो व्यवस्था गरिएको उल्लेख छ।