काठमाडौँ— प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह र पार्टी सभापति रवि लामिछानेबीच भएको पछिल्लो भेटवार्तामा मन्त्रीहरूको कार्यसम्पादनको विषयलाई लिएर गम्भीर समीक्षा भएको छ। उक्त छलफलमा विशेषगरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भूमिका र कार्यशैलीलाई लिएर प्रधानमन्त्री शाहले असन्तुष्टि व्यक्त गरेको दाबी गरिएको छ।

स्रोतका अनुसार, सेयर बजारको वर्तमान अवस्था, वैदेशिक ऋणमाथिको बढ्दो निर्भरता तथा समग्र अर्थतन्त्रमा अपेक्षित उत्साह ल्याउन नसकेको कारण देखाउँदै प्रधानमन्त्री शाह अर्थमन्त्री वाग्लेप्रति असन्तुष्ट बनेका हुन्।

यसका साथै, नेपाल धितोपत्र बोर्डको अध्यक्षमा गोपालप्रसाद भट्टलाई गरिएको नियुक्तिलाई लिएर पनि प्रधानमन्त्री पक्षबाट प्रश्न उठाइएको छ। उक्त नियुक्तिले ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ (स्वार्थ बाझिने स्थिति) सिर्जना गरेको आरोपसमेत लगाइएको स्रोतको भनाइ छ।

यद्यपि, यी असन्तुष्टि र आरोपहरूका विषयमा सम्बन्धित पक्षहरूबाट हालसम्म कुनै पनि आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।

स्रोतका अनुसार रास्वपा सभापति लामिछानेले पनि केही मन्त्रीहरूको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका छन्। स्वास्थ्यमन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोखरेल, महिला, बालबालिका मन्त्री सीता बादी, पर्यटनमन्त्री खड्कराज पौडेल तथा कृषिमन्त्री गीता चौधरीको कार्यसम्पादनबारे उनले प्रश्न उठाएको दाबी गरिएको छ।