काठमाडौँ — सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले सञ्चारगृह तथा अन्य स्थानमा गाडी तेर्स्याएर सरकार आफैँले बचपना देखाएको भन्दै कडा टिप्पणी गरेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिँदै नेता झाले आफ्नै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्। राज्यको प्रमुख दायित्व नागरिकका समस्या र चिन्ताको समाधान गर्नु रहेको उल्लेख गर्दै उनले राज्य आफैँले नागरिकलाई थप आतङ्कित बनाउने गतिविधि गर्न नहुने स्पष्ट पारेका छन्।
सरकारका यस्ता गतिविधिबाट देशमा सुशासन स्थापित हुन नसक्ने भन्दै झाले कडा प्रश्न गरेका छन्, "यस्तो बचपना देखाएर राजकाज चल्छ ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेन्जी पुस्ताले शहादत गरेको हो ?"
यस प्रकारका गतिविधिप्रति आफ्नो घोर आपत्ति रहेको जनाउँदै नेता झाले राज्यका निकायले कानुनी शासनको पूर्ण रूपमा पालना गर्दै जिम्मेवार ढंगले काम गर्नुपर्नेमा जोड दिएका छन्।




















