ओडिशा (भारत)—भारतको ओडिशा राज्यस्थित बलाङ्गीर जिल्लामा घरेलु विवादका क्रममा श्रीमतीले मोबाइल फोनले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका एक पुरुषको अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएपछि मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार, घटना बलाङ्गीर टाउन प्रहरी क्षेत्रअन्तर्गत चिम्नीभाटीपाडामा भएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार श्रीमान्–श्रीमतीबीच घरायसी विषयलाई लिएर विवाद भएको थियो। विवाद चर्किएपछि श्रीमतीले मोबाइल फोनले श्रीमान्को टाउकोमा प्रहार गरेकी थिइन्, जसबाट उनी गम्भीर घाइते भएका थिए।
घटनापछि उनलाई तत्काल उपचारका लागि बलाङ्गीर जिल्ला मुख्यालय अस्पताल लगिएको थियो। उपचारपछि स्वास्थ्यमा सुधार आएको भन्दै चिकित्सकहरूले उनलाई डिस्चार्ज गरेका थिए। तर, घर फर्किएको केही समयमै उनको स्वास्थ्य अवस्था फेरि बिग्रियो र मृत्यु भएको बताइएको छ।
प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि पठाएको छ। पोस्टमार्टम प्रतिवेदन आएपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने र मोबाइल प्रहारबाट लागेको चोटकै कारण मृत्यु भएको हो वा अन्य कुनै कारण रहेको हो भन्ने पुष्टि हुने जनाइएको छ।
हाल प्रहरीले परिवारका सदस्य तथा अन्य सम्बन्धित व्यक्तिसँग सोधपुछ गरिरहेको छ। पोस्टमार्टम प्रतिवेदन र संकलित प्रमाणका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। घटनाबारे विस्तृत अनुसन्धान जारी छ।




















