इराकको राजधानी बग्दादस्थित बेबिलोन होटलमा कार्यरत गोरखाका जितमान गुरुङले बाहिर के भइरहेको छ भन्ने थाहा पाएका छैनन्।उनलाई होटल बाहिर निस्कन अनुमति छैन। ‘भित्रै काम गर्छौं, भित्रै बस्छौँ। बाहिरी वातावरणबारे खासै जानकारी छैन,’ उनले टेलिफोनमा भने। उनले सडकमा हतियारधारी सुरक्षाकर्मी हिँडिरहेको भने सुनाए। 

बेबिलोन होटलमा मात्रै करिब सय जना नेपाली कार्यरत छन् । उनीहरू सुरक्षा गार्ड, वेटर, कुक लगायतका काममा छन् ।त्यहीँ कार्यरत गोरखाका कुन्दन घलेले सुरक्षा जोखिम महसुस भइनहालेको बताए । ‘युद्ध भइहाले करिब १२ किलोमिटर टाढा अमेरिकी दूतावास रहेको ग्रिन जोनमा बढी थ्रेट हुन्छ,’ उनले भने ।

घलेका अनुसार अन्य मुलुकका समेत दूतावास रहेको ग्रिन जोनमा केही नेपाली सुरक्षा गार्ड छन् । ‘त्यहाँ नेपाली छन् भन्ने सुनेका छौं तर हाम्रो सम्पर्क छैन,’ ६ वर्षदेखि इराकमा रहेका उनले भने ।बग्दाद सहरबाट बाहिर अमेरिकी सैन्य क्याम्प छ । अमेरिकाले मध्यपूर्व लक्ष्य गरेर इराकमा सैन्य क्याम्प राखेको हो । अमेरिकाले ड्रोन आक्रमणबाट इरानका शक्तिशाली जर्नेल कासिम सुलेमानीको हत्या गरेपछि इरान र अमेरिकाबीच तनाव चुलिएको छ ।

अमेरिकी सैन्य क्याम्पका कारण अमेरिका–इरान युद्ध भए त्यसको असर इराकी क्षेत्र र त्यहाँ रहेका नागरिकमाथि पनि पर्ने आकलन गरिएको छ ।नेपाली सुरक्षाकर्मीलाई सबैभन्दा बढी रोजगारी दिएको सुरक्षा कम्पनी जीफोरएसले भने तीन वर्षयता नेपालीलाई फिर्ता पठाइसकेको छ ।

‘हामी हुँदा बग्दादमा रहेका सबै देशका दूतावासको सुरक्षाको जिम्मेवारी नेपालीकै हातमा थियो । श्रम स्वीकृति नदिइएपछि सुरक्षा कम्पनीहरूले निरन्तरता दिएनन्,’ बग्दाद छाडेर इराककै अर्को सहर बास्रा पुगेका एक नेपाली सुरक्षा अधिकृतले भने, ‘नेपाली कतै–कतै होलान् । तर, पहिले जस्तो छैनन् ।’

उनले बाहिर होहल्ला भएजस्तो आफूलाई केही नलागेको बताए । ‘यहाँका अधिकतर कम्पनी पर्ख र हेरको अवस्थामा छन्,’ उनले भने । घलेले भने लडाइँ भएर जोखिमको अवस्था आए तत्काल स्वदेश फर्काइदिने आश्वासन होटलले दिएको बताए ।बग्दादमा भन्दा कुर्दिस्तान क्षेत्रमा नेपाली बढी छन् । कुर्दिस्तानमा कम्तीमा १५ हजार नेपाली छन् । अवैध रूपमा जाने भएकाले इराकमा कति नेपाली छन् भन्ने आधिकारिक तथ्यांक कतै छैन ।

गुरुङले बग्दादभन्दा कुर्दिस्तान बढी सुरक्षित रहेको बताए । ‘हुन त यहाँ इरानी पनि छन्, अमेरिकी पनि छन् । सबै आ–आफ्नो भूमिकामा छन् । नेपालीहरू दिनभर आ–आफ्नो ड्युटी गर्छन् । बेलुका कोठामा फर्किन्छन्,’ उनले भने, ‘अरू विषयमा खासै चासो छैन ।’गुरुङका अनुसार नेपाली युवती धेरै घरेलु काममा छन् ।‘उनीहरूलाई झन् चासो छैन,’ उनले भने । गैरआवासीय नेपाली संघ, इराकका अध्यक्षसमेत रहेका गुरुङले नेपालीसँग समन्वय बढाउन थालेको जानकारी दिए । इरानमा भने २५ जना मात्रै नेपाली रहेको सरकारी तथ्यांक छ । आजको कान्तिपुर दैनिकमा होम कार्कीले लेखेका छन्।