काठमाडौं, १७ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । मन्त्रिपरिषदले सपथ समेत ग्रहण गरिसकेको छ । तर, सपथको १३ घण्टा बितिसक्दा समेत मन्त्रिपरिषद सदस्यहरुको जिम्मेवारी औपचारिक घोषणा गरिएको छैन ।

भारतीय सञ्चार माध्यमहरुले स्रोतहरुलाई उद्धृत गर्दै मन्त्रिपरिषदका सदस्यहरुको प्राप्त गरेको जिम्मेवारीबारे समाचारहरु प्रकाशित गरेका छन् । मन्त्रिपरिषदमा दोस्रो वरियतामा रहेका राजनाथ सिंहले फेरि गृह मन्त्रालयका जिम्मेवारी पाउने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । मोदीको पहिलो कार्यकालमा पनि सिंह गृहमन्त्री नै थिए ।

भाजपाका अध्यक्ष अमित शाहले अर्थ मन्त्रालयका जिम्मेवारी पाउने भएका छन् । प्रधानामन्त्री मोदी गुजरातका मुख्यमन्त्री हुँदा शाहले गृह मन्त्रालयका जिम्मेवार सम्हालेका थिए । मोदीलाई दोस्रो कार्यकालको जितका योजनाकारमा शाहलाई मानिन्छ ।

शाहलाई मोदीको उत्तराधिकारीको रुपमा हेरिएको छ । भाजपाका पूर्व अध्यक्ष रहेका नीतिन गडकरीले पूर्ववत जिम्मेवारी पाउने भएका छन् । उनले सडक यातायात तथा राजमार्ग, पानीजहाज, जलस्रोत, गंगा पुनर्जीवन नै गडकरीका भागमा परेको छ ।

डिभी सदानन्द गौव्डाले तथ्यांक तथा कार्यक्रम कार्यान्वयन तथा निर्मला सितारमणलाई रक्षा मन्त्रालयका जिम्मेवारी पाउने छन् । सीतारमण भारतको पूर्ण जिम्मेवारीसहित रक्षामन्त्री हुने पहिलो महिला हुन् ।

यसअघि इन्दिरा गान्धी प्रधानमन्त्री हुँदा रक्षा मन्त्रालयका पनि जिम्मेवारी सम्हालेकी थिइन् । मोदीको दोस्रो कार्यकालको सबैभन्दा ठूलो सरप्राइजका रुपमा लिइएका एस जयशंकरलाई विदेश मन्त्रालयका जिम्मेवारी पाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मोदीको पहिलो कार्यकालमा जयशंकरलाई विदेश सचिव बनाएका थिए । उनी २०७५ माघ १४ सम्म भारतको विदेश सचिव रहेका थिए ।

रविशंकर प्रसादले पनि पुरानै जिम्मेवारी प्राप्त गरेका छन् । उनलाई न्याय तथा कानुन, विद्युतीय तथा सञ्चार प्रविधि मन्त्री बनाइएको छ । उत्तराखण्डका पूर्व मुख्यमन्त्री रमेश पोखरियालले स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका जिम्मेवारी पाएका छन् ।

यसअघि सो जिम्मेवारी जेपी नड्डाले पाएका थिए । नड्डाले पार्टी अध्यक्ष हुने अनुमान गरिएको छ । एक व्यक्ति एक पद रहेको भाजपामा शाह मन्त्री बनेपछि नयाँ अध्यक्ष चयन हुनेछ । विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीलाई अमेठीबाट पराजित गर्ने स्मृति इरानी महिला तथा बालबालिका विकास मन्त्रालयको जिम्मेवारी पाउने बताइएको छ ।

मोदीका पहिलो कार्यकालमा सो मन्त्रालय जिम्मेवारी मेनका गान्धीले प्राप्त गरेकी थिइन् । नरेन्द्र सिंह तोमार संसदीय मामिला, ग्रामिण विकास र पञ्चायती राज मन्त्रालय जिम्मेवारी पाएको बताइएको छ । थवार चन्द्र गेहलोतले सामाजिक न्याय तथा सशक्तिकरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मोदी मन्त्रिपरिषदको जिम्मेवारी औपचारिक भने होइन । सञ्चारमाध्यमहरूको स्रोतहरुलाई उदृत गर्दै सञ्चार माध्यमहरु गरेको दाबी हो । भारतीय प्रधानमन्त्री मोदीसहित ५८ जना मन्त्रीहरुले बिहीबार साँझ सपथग्रहण गरेका थिए । उनको मन्त्रिपरिषदमा २४ मन्त्री, ९ जना राज्यमन्त्री (स्वतन्त्र जिम्मेवारी) र २४ जना राज्यमन्त्री रहेका छन् । मोदीका मन्त्रिपरिषदमा ४० प्रतिशत नयाँ सदस्य हुन् ।