तारा पराजुली,बेलबारी मोरङ

'जताततै पानीपानी छ
तिर्खा मेट्ने ठाँउ छैन'
ठ्याक्कै नाम त याद भएन,धेरै पहिले कतै पढेको थिएं यो कवितांश।एक चर्चित कविको यो कवितांशको घरीघरी याद आइरहन्छ मलाई। वर्ग संघर्ष (अङ्ग्रेजी : Class struggle) मार्क्सवाद सिद्धान्तको प्रमुख तत्व हो। मार्क्सवादका योजनाकार अभियन्ता कार्ल मार्क्स र फेडरिक एङ्गेल्सले लेखेका छन्, " अहिले सम्म विद्यमान सबै समाजहरूको मानव इतिहास वर्गसंघर्षको इतिहास हो भनेर।उनीहरुले सम्पूर्ण जीवन र समाजलाई वैज्ञानिक ढंगले ब्याख्या गरे ।यो व्याख्याको सबैभन्दा सुन्दर पक्ष नै समाजको रुपान्तरित स्वरुप र सोच चिन्तनको सन्तुलित प्रयोग हो।

नेपालको संविधानले समाजवाद उन्मुख प्रगतिशील समावेशी राज्यको परिकल्पना गरेको छ।उक्त परिकल्पनालाई साकार पार्र्ने म्यान्डेट जनताले नेकपालाई जनमतद्वारा प्रदान गरेको छ।हामी परिवर्तनका पक्षधरहरु यो समय नेपाल कम्युनिस्ट पार्टी नेकपालाई अझ वैज्ञानिक र प्रगतिशील पार्टी बनाउन जरुरी छ भनेर हिम्मतका साथ अघि बढेका छौँ।बलियो र सुदृढ पार्टी हुँदा र पार्टी असल निति सिद्धान्तले चल्न चलाउंन सके देशमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धि प्राप्त हुने अपेक्षा आम नागरिकको छ।नेकपाको सरकार गठन भए यता छोटो समयमा जनताले महशुस गर्न सक्ने धेरै कामहरु भए।

अझ धेरै गर्न बाँकी छ।यसर्थ पनि जनतामा परिवर्तनका आशा र विश्वास जागृत भएका छन् ।हालै दुई ठूला कम्युनिस्ट पार्टीहरु एकीकरण भइ गठन भएको एकीकृत पार्टीका राष्ट्रिय कार्यभार बढेका छन् । पाँच वर्ष सरकार चलाउने सुविधाजनक एवम् सम्मानजनक बहुमतप्राप्त सरकार नेकपाले प्राप्त गरेको छ।यो ऎतिहासिक अवसरलाई भरपुर सदुपयोग गरि अव्वल कार्यशैलीको छनोट गर्दै कर्तव्यबाट विचलित नभई मुलुकको सुन्दर भविष्य निर्माण गर्न अलिकति पनि चुक्न नहुने कुरा जनताबाट प्राप्त जनमतले किटान गरिसकेको छ।

विश्वका कम्युनिष्ट पार्टीले सैद्धान्तिक र व्यवहारिक दुबै पाटोलाई सन्तुलन कायम गर्दै संगठन सञ्चालन विधिलाई सर्वोच्चता ठान्ने पद्धति अनुरुप नै संचालित छौ हामी र हाम्रो सांगठनिक संरचना। सचेत कृयाशील कार्यकर्ताबाट आफ्नो प्रतिनिधि चयन गर्ने परिपाटी समय सन्दर्भ भिन्न हुँदा प्रतिनिधिमार्फत कार्यकर्ता छनोट हुँदा समेत सामूहिक नेतृत्व प्रणालीमा विश्वास गर्ने यो अवधारणाले कुनै पनि निर्णय व्यक्तिवादी नभई कमिटीबाट गर्नुपर्नेमा जोड दिनुपर्ने हो। यहाँनेर वैज्ञानिक पद्धतिकै कुरा उठ्छ; नेपाल कम्युनिस्ट पार्टी नेकपा विविध कालखण्डमा भएका संघर्षको बलबाट निर्मित पार्टी हो।लाखौंलाख नेता,कार्यकर्ता र शुभेच्छुकहरुको संघर्ष त्याग र बलिदानीबाट निर्माण भएको पार्टी हो।

तसर्थ पार्टीको मुख्य सम्पत्ति भनेको इमानदार सक्रिय कार्यकर्ता नै हुन्।आज यो पार्टी आम जनताको पार्टी बन्नुमा नेता,शुभचिन्तक,र इमानदार कार्यकर्ताको अधिक त्याग तपस्या र बलिदानीको कसीलाई भुल्न सकिन्नं।हामीले यसो भनिरहंदा पार्टीलाई आफूलाई भन्दा पनि धेरै माया गर्ने त्यागी इमानदार कार्यकर्ताहरुको व्यवस्थापनको सवाल उठ्छ।म त भन्छु;कमरेडहरु! व्यवस्थापन होइन उचित व्यवस्थापनको नीति लिऔँ।पार्टीमा भोलिको लागि कुशल नेतृत्व गर्न सक्ने प्रचुर सम्भावना बोकेका कार्यकर्ताहरुको सहभागिता सघन रुपमा हुनुपर्यो।हामो सांगठनिक ढाँचालाई मिहिन रुपले नियाल्दा उर्जावान युवाहरुको योग्यता क्षमता र देनको सही मूल्याङ्कन हुन नसकेको गुनासो यतयत्र छ।

जब कार्यकर्ताको क्षमता र मनोविज्ञानलाई ख्याल् नगरी महत्त्वपूर्ण निर्णयहरु हुन्छन् ।साहस र उर्जाको आभाले चम्किला लाग्ने युवाहरु जब विविध तवरले किनारीकृत हुन्छन् ।तब सिद्धान्त अफ्ट्यारोमा पर्छ ।विचार धराशायी बन्न पुग्छ।गन्तव्य र आस्था अन्यौल वेचयन हुन पुग्छ।राष्ट्र निर्माणका कुशल अभियन्ता परिवर्तनका संवाहक जांगरले भरिएका यी योद्धाहरुको आत्मसम्मानमा चोट पुग्यो भने समृद्धिको सपना अधुरो अपुरो हुने कुरामा दुईमत छैन। कार्यकर्ताको मनोबिज्ञानिक स्थितिलाई सुक्ष्म अध्ययन विना नै यस्ता निर्णय र कार्यशैलीबाट एक्काइसौं शताब्दी अनुकूलको बैज्ञानिक पार्टी निर्माणको अपेक्षा गरिनु कत्तिसम्म सान्दर्भिक हुन्छ सोच्ने बेला आएको छ।

लाखौं कार्यकर्ता र शुभचिन्तकहरुको श्रमबाट निर्मित अनि सिर्जित यो ऎतिहासिक उपलब्धि र अवसरलाई भरपुर सदुपयोग गरि अव्वल कार्यशैलीको छनोट गर्दै मुलुकको सुन्दर भविष्य निर्माण गर्ने यो समय सैद्धान्तिक र व्यवहारिक दुबै पाटोलाई सन्तुलन कायम गरेर नेतृत्वको कार्यशैलीबाट नै आम नेता कार्यकर्ता र शुभचिन्तक सबैमा अपनत्व महशुस गर्न सके मात्र समृद्ध नेपाल सुखी नेपालीको मूल मर्म पूरा हुनसक्छ।

श्रम,पसिना,योग्यता क्षमतामा विश्वास गर्ने,प्रभावकारिता, पारदर्शिता,लगनशीलताका माध्यम बाट कार्यकर्ता स्वस्थ प्रतिस्पर्धामा जाने र गुणस्तरीय श्रेष्ठता हासिल गरेर नेतृत्वमा पुग्ने असल संस्कारको सुरुवात हामीबाटै गर्नु आवश्यक छ।यसो भयो भने मात्र नेकपा जनताको पार्टी आम नेता कार्यकर्ताको पार्टी बन्न सक्छ। पक्कै पनि थुप्रै चुनौतीहरु छन् ।यी सबैलाई सामना गर्दै अब यो समयअवसरहरु कुर्ने समय भन्दा पनि अवसरहरु सिर्जना गर्ने समय हो।सिर्जशीलतातर्फ अघि बढौं।परिवर्तन हाम्रै पालामा सम्भव छ। धन्यवाद 

(लेखक बेलबारी नगरपालिकाकी
उपमेयर समेत हुन् )