कविता शिर्षक : गिट्टी कुट्ने दिदि...
यतिबेला
बेखबर जूनलाई सम्झियौ होला
उहीँ पुरानो कुन्जोमा फेसो हाल्दै
बेपत्ता उसका पाइलाहरु भूईँभरी खोज्यौ होला।
अँध्यारोका जुनकीरी बोलाएर
बिच बाटोका पदयात्री रोकेर
उसको खबर सोध्यौ होला
उसले लगाएका वर बगैंचा
लटरम्म खुशीहरु आँखाभरी झुण्डिरहँदा
तिमीले पनि कति कति विरह र वेदना फलायौ होला।
हाँडीबाट उछिट्टिएको मकै झैं
उ आँखाबाट उछिट्टिएको यस्तै बेला त हो
सम्झिरहन्छु आवाजहरुमा
अभावको घुम खप्टिँदै
ट्वाक् ट्वाक् ट्वाक गिट्टी कुटिरहेकी तिमीलाई
चुहिने पालमाथि टाँगेको वर्तमान उतिखेरै चुहिन्थ्यो
अझै त्यसैले छल्दै हौली यी घामपानी
त्यसैले टार्दै हौली यी साँझबिहान।
मलाई थाहा छ
रहरले रहरकै छानों उक्लिंदै फुल्थे ती जंगली फूलहरु
तर रित पूरा गर्न मात्र फुल्थेआंगनका फूलहरु।
त्यो एक्लो र रोगी नियती अझै उसैगरी पछ्याइरहेको होला लखर लखर।
हराएका आँसुहरु खोज्दै
कैयौँ भोल्गाहरु छाम्यौ होला हेर्दै शिशिरको
उदास उदास रुख सम्झिंदै रित्तो रित्तो खाली खाली
आकास भन्थेउ,खोजिरहन्छु नभेटिएसम्म यी आँखाका मोतीहरु।
रहर गनाउने यी माटोका डल्लाहरु देखेर
सराप्छौ होला
धिक्कार्छौ होला
थुक्छौ होला
तर नथुक्नु माटोलाई झुक्किएर पनि नसराप्नू माटोलाई
बिर्सिएर पनि सार्है ठूलो गुन लगाएको छ माटोले त
टेक्ने छाती दिएर सहने मन दिएर।




















