पढाइका सिलसिलामा चार वर्ष राजधानी बसेर चैतेदसैँमा घर आएकी नातिनीलाई देखेपछि उनकी हजुरआमामा एक्कासि करुणाको वर्षा हुन थाल्यो । दुई घण्टाको उकालो पैदल हिँडाइका कारणले नातिनीको अनुहार पनि निकै मलिन देखिन्थ्यो ।

नातिनी तीन वर्ष पुग्दा नपुग्दै आफ्नो छोराको सडक दुर्घटनामा परी मृत्यु भएको हुनाले उनी छोरो गुमाएकी आमा थिइन् भने नातिनी बाबु गुमाएकी छोरी थिई । त्यसैले पनि नातिनी हजुरआमाकी अत्यन्त प्यारी सन्तान थिई ।

पढाइमा अब्बल रहेकी हुनाले उसले विज्ञान विषयमा जीपीए चार प्राप्त गरी कक्षा १२ उत्तीर्ण गरेकी थिई । त्यसपछि सरकारी छात्रवृत्ति पाएर एमबीबीएस सिध्याउनै लागेको समयमा ऊ घर आएकी थिई एक हप्ताका लागि । अबको एक वर्षपछि उसलाई आफ्नो नामको अगाडि डा. लेख्ने औपचारिक अनुमति प्राप्त हुनेछ । राष्ट्रले उसलाई भरपर्दो प्राविधिक जनशक्तिका रूपमा प्राप्त गर्नेछ ।

त यस्ती नातिनी यति लामो समयपछि घर आउँदा किन हजुरआमा त्यसरी विह्वल भइन् होला भन्ने जिज्ञासा सबैमा होला । हजुरआमा अरू कुराले होइन, नातिनीले लगाएको धुजाधुजा भएर च्यातिएको प्यान्ट देखेर त्यसरी दु:खित भएकी रहिछिन् । एउटा गतिलो प्यान्टसम्म लगाउन नपाई नातिनीले कसरी आफ्ना धनाढ्य साथीहरूसँग बसेर पढिहोली भनेर उनमा अति पीडा भएको रहेछ ।

बाबु बाँचिरहेको भए उसले यस्तो दुर्दशा कदापि आउन दिने थिएन भनेर सम्झँदा उनलाई अझ वेदना थपियो । उनले नातिनीलाई " किन नानी यस्तो झुत्रे प्यान्ट लगाएकी ?" भनेर सोध्नसम्म पनि सकिनन् । उनको गला अवरुद्धको अवरुद्धै रह्यो । उनले के भन्ने, के गर्ने भन्ने कुराको कुनै भेउ पाउन सकिनन् । बरु उनी आफैँलाई धिक्कारिरहेकी थिइन् ।

लेखक आचार्य सुकुना बहुमुखी क्याम्पसका पुर्व प्राध्यापक हुनुहुन्छ ।सुन्दरहरैँचा न.पा. -१२, मोरङ