कोरोना भाइरस
पशुपंक्षीको मांसाहारका कारण चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका ५८ देशमा फैलिएको छ भने ८७ हजार १ सय ३७ जना संक्रमित भएको तथ्य बाहिरिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले नेपाललाई कोरोना भाइरस (कोभिड १९) को उच्च जोखिम क्षेत्रको रुपमा समावेश गरेपछि उच्च सर्तकता अपनाउन स्वास्थ्यसम्बन्धीका अभियान आरम्भ गरिएको छ । देशका विभिन्न शहरबजार र स्थानहरुमा कोरोनाको प्रारम्भिक क्वारेन्टाइन चेकपोष्ट बनाइने र यसको प्रभावकारी कार्यान्वयनमा जाने सरकारको तहगत निर्णय आइसकेको छ । प्रदेश नम्बर १ मा कोरोना भाइरससम्बन्धी लक्षण देखिएका शंखास्पद व्यक्तिहरुको प्रारम्भिक जाँच परिक्षण र यससम्बन्धी नमुना संकलन प्रदेशको राजधानी विराटनगरबाट आरम्भ गरिएको छ ।

दोस्रोपटक मृगौला प्रत्यारोपणका लागि शल्यक्रिया कक्षमा प्रवेश गर्नुपूर्व नेकपा अध्यक्ष एवं संघीय सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य समस्याभन्दा बढी चिन्ता दर्शाउनुहुँदै कोरोना भाइरस र यसको संक्रमणप्रति गम्भीर चासो व्यक्त गर्दै विश्वलाई नै पिरोलिरहेको कोरोना भाइरसका कारण सिर्जित भएको नयाँ समस्या होस् या भइपरी आउने कुनै पनि विषय, त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न गराउन र परेको समयमा आवश्यक निर्णय लिनसक्ने संयन्त्र र अन्य व्यवस्था मिलाएको छु भन्नुभएको छ । यसले पनि सारा देश अत्यन्तै गम्भीर छ भन्ने कुराको बलियो दृष्टान्त पेश गरेको छ ।

नेपाल सरकारको तर्फबाट स्वास्थ्य मन्त्रालयले तत्कालका लागि मानिसको जमघट हुने ठूला सभा, सम्मेलन, भोजभतेरसहितका कार्यक्रम नगर्न नागरिक सर्वसाधारणसमक्ष आह्वान गरेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले निजी वा सार्वजनिक उत्सव÷महोत्सव, सभा समारोह जस्ता भीडभाड हुने कार्य नगर्न आह्वान गरेको छ । स्थिति प्रतिकूल भए अन्तर्राष्ट्रिय हवाई उडान पनि रोकिन सक्ने संकेत गरेको छ भने देशको एकमात्र बाहिरिने र भित्रिने स्थल त्रिभुवन विमानस्थलका दुवै स्थलमा स्वास्थ्य जाँच गरिने र अन्तराष्ट्रिय विमानस्थलन हुँदै देशभित्रिने सबैको यात्रुको अनिवार्य स्वास्थ्य परीक्षण आरम्भ गरेको छ भने विमानस्थलमा ६ वटा थरमल स्क्रयानर राखिएको छ ।

अहिले यसबारे सर्वत्र कोलाहल, चर्चा, सतर्कता र सचेतना अभिबृद्धिको लहर चलेको छ । यहिँबीचमा नेपाली कम्युनिष्ट आन्दोलनका लागि यसको गौरव र प्रेरणास्वरूप घटना सन्दर्भ रहेको फाुगन २१ को पूर्व सन्ध्यामा दुई दिनअघि फागुन १९ गते नेकपा, झापा जिल्लाको व्यवस्थापनमा झापाको बिर्तामोडमा नेकपा, प्रदेश नं. १ कमिटीको पूर्ण बैठक अत्यन्तै भव्य सम्पन्न भएको छ । सम्पन्न बैठकबाटै पार्टीको पछिल्लो ३ महिने जनअभियान– पार्टी एकता सुदृढीकरण र समृद्धिका लागि राष्ट्रिय अभियान सञ्चालन भएको छ ।


वस्तुस्थिति
यतिबेला हामीले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७३ बमोजिम सम्पन्न भएका निर्वाचनहरूबाट स्थानीय तह, प्रदेश तह र संघीय तहमा अपवादबाहेक अत्यधिक बहुमत सहितको नेकपा नेतृत्वका सरकारहरू क्रियाशील छन् । सुखी नेपाली ः समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकांक्षालाई पूरा गर्दै वर्तमान सरकार नेपाली समाजको भौगौलिक र साँस्कृतिक विशेषताअनुरूपको समाजवाद प्राप्त गर्ने दिशामा छ ।

संविधानको प्रस्तावनाले नै ‘लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण’ गर्ने भनेको छ । सरकार यसको अक्षरशः परिपालन र कार्यान्वयनमा उभिएको देखिन्छ । यसो गर्दागर्दै स्थानीय सरकारका हकमा तीनवटा वर्षहरू र प्रदेश र संघीय सरकारका हकमा दुइटा आर्थिक वर्षहरू पूरा भएका छन् ।

एकीकृत पार्टी निर्माणको प्रश्नसँगै र पार्टी नेतृत्वको सरकारको काममा देखिएका आशातीत असाध्यै राम्रा पक्षहरू, जनमतसमक्ष रहेका केही असन्तुष्टिहरू र त्यसले निम्त्याउन सक्ने सम्भावित प्रश्नहरूबाट पार्टी पंक्ति प्रस्ट हुन जरूरी थियो । यसका अतिरिक्त राजनीतिक वस्तु परिस्थितिको सुक्ष्म विश्लेषण र संश्लेषण गर्नुपर्ने आवश्यक भएको ठहराउँदै हामीले प्राप्त गरेको समावेशी चरित्रको गणतन्त्रात्मक लोकतान्त्रिक आन्दोलनको व्यवस्थापनसँगै सतहमा तैरिएका कतिपय बैचारिक विषयवस्तुको सघन विवेचना हुनुपर्ने र खिँचिएको सारभूत पक्षलाई आजको साझा अभिभाराका रुपमा ग्रहण गर्नुपर्ने विषयमा बैठक केन्द्रीत रह्यो ।

आमजिज्ञासा
१ नम्बर पार्टी प्रदेशको यो दोस्रो पूर्ण बैठकमा मुख्यतः भारतीय पक्षले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तालगायतको क्षेत्रमा देखिएको समस्या समाधान गर्ने पहलबारे भएको प्रयास र यसका उपलब्धीहरू, एमसीसी, बालुवाटार जग्गा प्रकरण, तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटा प्रकरण, आशंकाका प्रश्न उब्जने नेता कार्यकर्ताको जीवनशैली र नैतिक आचरणजस्ता विषयहरू दोहोरिँदै तेहेरिँदै मेजर बने भने पार्टीभित्र हुर्कदै गएको सुकिलो वर्ग, नेतृत्वद्वारा संरक्षित गुटबन्दी, अनुशासनहीनता, अराजकता र स्वार्थ प्रेरित ढंगले नेकपा नेतृत्वकै सरकार र संयन्त्रका विरूद्ध कहिले भैंसेपाटी, कहिले खुमलटार वा कहिले अन्यत्र स्थलहरूमा हुने बैठकहरू र यसले जनमानस सर्वधारणमा पार्ने असरबारे खुलेर कुरा उठेको छ ।

बैठकमा, खासगरि स्थानीय र प्रदेश तहमा पार्टी र सरकार सञ्चालनबीच बिल्कुनै समन्वय नभएको पीडा पोखिएसँगै पार्टी एकीकरणको प्रक्रिया झण्डैझण्डै पूरा भई सक्दा पनि साविकको कित्ताबन्दी, कित्ताबन्दीभित्र गुटबन्दी एकीकरण नभएकोप्रति गम्भीर चिन्ता र चासो व्यक्त भएको छ । यसले भावानात्मक एकताको खाँचो औल्याएको छ भने राजनीतिक बैचारिक महत्वका हिसावले पार्टी स्कुलिङ व्यवस्थापन र अभिलम्ब सञ्चालनको अनिवार्यता माग गरेको छ । तत्कालीन अवस्थामै राजनीतिक लाभका लागि हुने व्यक्तिकेन्द्रीत हाम्रो बहस, बहसको आवश्यकता र औचित्य र सम्बन्धित व्यक्तिको उपस्थिति र मर्यादाविपरित हुने यस्ता बहसका लागि बहसमूलक गतिविधिहरूलाई बेलैमा नियन्त्रणमा लिन नसकेको नेकपापंक्ति मोटाएको हो कि सुनिएको ! गम्भीर भ्रम रहने विषयप्रति आमसरोकार प्रकट भएको छ ।

उपनिर्वाचनमा नेकपाको एकताबद्ध उपस्थिति र यसबाट प्राप्त भएको सरदर परिणाम र समग्र पार्टी संगठनको व्यवस्थापनको अद्यावधिक स्थितिलाई अध्ययन गर्दा साँच्चिकै नेकपापंक्ति के गर्दैछ ? कहाँ छ ? अनुत्तरित भएको विषयवस्तुसमेत उठेको छ । माथिल्ला जिम्मेवारले व्यहोरा नछाडे मातहतको पार्टी संगठनात्मक जीवनमा शीर कहिल्यै नझुक्ने हो । तर, यतिबेला शीर झुकेको अवस्था रहेकाले आजको राष्ट्रिय राजनीति र अन्य परिस्थितिअनुसार गम्भीर हुन नेतृत्वको गम्भीर ध्यानाकर्षण गराउँदै तमाम नेकपाजनको शीर उठाउन हामी हाम्रो प्रतिबद्धताप्रति कटिबद्ध हुनुपर्ने विषय कडा सहभागी अधिकांशबाट मुखर भएको छ ।

श्रमप्रति आस्थाको अभिमत राख्नुपर्ने र श्रमजीवीप्रति सम्मान गर्नुपर्ने राजनीतिक संस्कृति निर्माणको पक्ष अनुकूलताका लागि फेरिएको राजनीतिक वस्तुस्थिति, समग्र सामाजिक ढाँचा, नवीकृत सांस्कृतिक मान्यताहरूको सन्दर्भमा हाम्रो पार्टी कामलाई नयाँ ढंगले सञ्चालन गर्नुपर्ने, नेपाली समाजको यथास्थिति के हो ? प्रस्ट हुनुपर्ने, नेपाली कम्युनिष्ट आन्दोलनको विगत र आगतबारे यसको राजनीतिक बैचारिक हिसावले सुस्पष्ट हुनुपर्ने विषय उठेसँगै अबको पार्टी जीवन सैद्धान्तिक रूपमा, राजनीतिक र बैचारिक रूपमा, कार्यक्रमिक र कार्यनीतिक रूपमा प्रस्ट हुनुपर्ने विषय जिम्मेवारीबोधका साथ आएको छ ।

स्थापित हाम्रो कम्युनिष्ट आदर्श र उद्देश्यअनुरुपको दृष्टिकोणका हिसावले प्रस्ट नभए पार्टी बन्ने कि गुट बन्ने भन्ने कुरामै अन्यौल रहने चिन्ता सबैमा रहेको बुझिन्छ । हो, पार्टी र गुट आफैमा फरक दुइटा विषयहरू हुन् । यी दुइटा चिज सँगसँगै जाँदैन । जानु हुँदैन, र जाने÷लाने प्रयत्न कहिल्यै पनि र कसैले पनि गर्नु हुँदैन ।  राजनीतिक बैचारिक हिसावले सवल र सक्षम पार्टी बन्दा गुट निमिट्यान्न हुन्छ नै । पार्टी र पार्टी जीवनभित्रको आफ्नो उपस्थितिलाई एउटा गुटका आँखाले हेरियो भने स्वभाविक छ कि अब पार्टी बनाउने कि गुट भन्ने कुरामा नेता कार्यकर्ताको पंक्ति कहिँ न कहिँ अलमलिने छ । यसबेला हाम्रा हुर्कदा अनुचित आचरण, व्यवहार र कार्यशैलीका पक्षलाई घटाउने र हटाउनेभन्दा पनि मलजलको अवस्थामा उकेरा लगाउछ ।

अब नेतृत्वले गुट होइन, पार्टी बनाउनुपर्छ र पार्टी चलाउनुपर्छ । यसले मात्र राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रभाव छाड्न सक्ने कम्युनिष्ट पार्टी बन्न सक्छ । समाजवाद उन्मुख राजनीतिक यात्रालाई छिचोल्न सकिन्छ भन्ने विषयगत निष्कर्ष निकाल्न खोजिएको छ ।

जिम्मेवारी
नेपाली राजनीतिले आफ्नो जीवनकालको लामो यात्रा राजनीतिक व्यस्थापनमै बिताएको छ । यसैको प्रतिफलस्वरूप अहिले हामीहरू देशभक्त वामशक्ति र प्रजातान्त्रिक शक्तिबीचको सहमतिको साझा बिन्दुको रूपमा समावेशी लोकतन्त्र प्राप्त गरेका छौँ । यसको नेतृत्व नेकपाले गरिरहेको छ । यो झण्डै सुविधाजनक २÷३ को नजिकै छ ।

संविधानसभाबाट प्राप्त संविधान कार्यान्वयनसँगसँगै हाम्रो नेकपा नेतृत्वको वर्तमान राजनीतिक यात्राले स्थापित राजनीतिक नारालाई विकास र समृद्धिको मुद्दामा परिवर्तन गर्दै गइरहेको छ । अब पनि मुलुक अपेक्षित विकास, समृद्धि र समुन्नोतिको बाटोमा अघि बढ्न सकेन भने नेकपाजनको योग्यता र प्राप्त राजनीतिक व्यवस्थामा गत्तिलो प्रश्न खडा हुनेछ । देश पुनः अस्थिरता, अराजकता र पश्चगामी निराशामा जाने खतरा रहन्छ ।

विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व र स्थायित्वलाई सेवाप्रवाहमुखी बनाउन बलियो सरकार चाहिन्छ । नेकपाले बलियो सरकार बनाएको छ । वर्तमान सरकारको योजना र यसको चुस्त कार्यान्वयनबाट मात्र देशमा समृद्धि हासिल गर्न सकिन्छ भन्ने कुराको व्यवहारिक सुनिश्चिता दिन सक्नु जिम्मेवारका लागि प्राथामिक आवश्यकताबोधको विषय बनेको छ । अपवादबाहेक तीनवटै तहमा नेकपा नेतृत्वको यो सरकार इतिहासकै बलियो सरकार हो । यो सरकार र नेतृत्वप्रति जनताको अगाध आशा, विश्वास र भरोसा जागृत भएको छ ।

पार्टी एकताको प्रक्रिया पनि क्रमशः क्रमशः यसरी नै अनुमोदन हुँदै आएको छ । आजको नेपाली कम्युनिष्ट आन्दोलनका लागि यो एउटा ठूलो पूंजी हो । अपनत्वबोधका साथ यो सम्पत्ति बचाउन जरूरी छ । नेकपा नेतृत्वको सरकारको सफलता या असफलताको अमुक अमुक व्यक्ति विशेषको योग्यता–क्षमताको प्रश्न होइन, आम रूपमा एकताबद्ध हाम्रो पार्टी नेकपाको प्रश्न बन्ने छ ।

यसको अर्थ, पार्टीको सबै जिम्मेवार शक्ति, पंक्ति जश÷अपजशको समान ढंगले भागेदार हुने व्यवस्थाअन्तर्गत पार्टी र सरकार सञ्चालनका दौडान एकमना एकता, समन्वयात्मक भूमिका सहित सिंगो शक्ति, सिंगो पंक्ति समृद्धिको मुद्दामा एकाकारित हुन जरूरी छ । एकमना एकता, समन्वयात्मक भूमिका रह्यो भने नेपाली राजनीतिमा राजनीतिक बैचारिक हिसावले सुदृढ नेकपाको विकल्प छैन । विकास र समृद्धि अवश्यंभावी छ । नेकपाको यात्रा अबका केही दशकसम्मका अनवरत्, अविछिन्न र निरन्तर रहने छ ।

(लेखक युवराज बास्कोटा नेकपा को १ नम्बर प्रदेश कमिटी सदस्य हुनुहुन्छ )