- भूमिप्रसाद पाठक,
साउन ३१, पथरी–मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ८, मिलनचौक निवासी अशक्त बृद्धबुबालाई निजका घरमै पुगेर लायन्स क्लब अफ पथरीले आज अपरान्ह एकथान व्हीलचियर हस्तान्तरण गरेको छ ।

खडानन्द दाहाल, वर्ष ८४ ले विगत दुइटा वर्षयता दुबै खुट्टाको सहारा गुमाउनुभएको थियो । हेर्दा सारसुहाउँदो देखिए पनि खुट्टाका नशाले काम नगरेपछि बुबा ओछ्याउ लाग्नुभयो । सामाजिक अगुवा व्यक्तित्व प्रकाशबहादुर कार्की र पथरी शनिश्चरे नगर कार्यपालिका सदस्य गीता विश्वकर्माले यस कुराको सुइको पाएपछि बुबाले व्हीलचियर पाउने वातावरण बन्दै गयो ।
एरिया कोअर्डिनेटर लायन तुलसीराम ढकाल, जोन चेयरपर्सन लायन रोशन बुढाथोकी, पथरीका प्रेसिडेन्ट लायन उपेन्द्र कँडेल, पथरी योङ हर्ट प्रेसिडेन्ट लायन प्रदीप फूयाल, पथरी शनिश्चरे प्रेसिडेन्ट लायन देवी राई, भाइस–प्रेसिडेन्ट लायन भगवति कटवाल, भाइस–प्रेसिडेन्ट लायन प्रकाशबहादुर कार्की, भाइस प्रेसिडेन्ट लायन गोमा पौडेल बुढाथोकी, भाइस प्रेसिडेन्ट लायन गणेशकुमार बछाना राई, सचिव लायन भगवतचन्द्र थपलियाको उपस्थितिमा उहाँलाई व्हीलचियर हस्तान्तरण गरिएको हो ।

यस्ता कार्यक्रम र महत्वका बारेमा प्रकाश पार्नुहुँदै लायन लिडर रोशन बुढाथोकीले समग्रतामा समाज सेवाका लागि नेतृत्व र व्यक्तित्व विकासका क्षेत्रमा ‘हामी सेवा गर्दछौँ’ उद्घोष र अभियानका साथ स्थापनाको ५० औँ वर्ष मनाइरहेको लायन्सले नैतिकवान जीवन निर्माणको क्षेत्रलगायत दीर्घरोग, मधुमेह, हङगर रिलिफ, वातावरण निर्माण, दृष्टि निर्माण र क्यान्सर निवारणको क्षेत्रमा देशभरिमै उल्लेख्य ढंगले काम गरेको बताउनुभयो । लायन्स सँगसँगै क्रियाशील लियो क्लबमार्फत युवाहरुलाई समाजसेवामा परिचालन गरेको खुलासा गर्नुहुँदै लायन लिडर बुढाथोकीले सेवाका तत्परता लागि ‘मानवता पहिलो’ को भावना राख्नुपर्ने बताउनुभयो ।
कार्यक्रम समापनको घोषणा गर्नुपूर्व हस्तान्तरित व्हीलचियरले बुबा खडानन्द दाहाललाई मात्र होइन, उहाँको यो परिवारजन, सम्बन्धित समाजमा समेत परस्परमा सेवाभाव र सद्भाव हुनुपर्ने, यसले मानवीय सहिष्णुता बाँडिएको समय–सन्दर्भ निर्माण हुने र प्रकारान्तमा सुखद् क्षण अनुभूति गर्न सकिने समृद्ध समाज व्यवस्थापन हुने विश्वास व्यक्त गर्नुहुँदै कोरोना महामारीको बेलामा पनि सम्पन्न यस्ता गतिविधिहरुले हाम्रो समाजमा एउटा समुन्नत सामाजिक–संस्कृति निर्माणका दृष्टिकोणले परिस्कृत सांस्कृतिक परिवर्तन आउने पथरीका प्रेसिडेन्ट लायन उपेन्द्र कँडेलले बताउनुभयो ।
सामाजिक रूपमा यस्ता सुक्ष्म काममा ध्यान पुग्ने प्रखर नेता प्रकाशबहादुर कार्कीलाई स्थानीय निर्वाचनले पर्खिरहेको सहभागी शिक्षक अर्जुनकुमार तामाङले जनाउनुभयो ।
तिनको हाउभाउँमा यहाँ सहभागीहरुको प्रतिक्रिया हेरिरहेको थिएँ, बुबाको मुख हेर्ने दिन नजिकै गर्दाको यो क्षणमा नितान्त सामाजिक सेवामुखी लायन्स क्लब नामक यस संस्थाले अशक्त बुबालाई हिड्डुल गर्न सक्ने आधार तयार गरिदिएकोले उपस्थित स्थानीयबासीको मुहारमा एकाएक चमक भरिएको आभास भयो भन्नुहुन्छ समाजसेवी युवराज बास्कोटा ।



