 कविता
निषेधाज्ञा
भीमज्वाला राई

बेला बेला
फर्मान जारी भईरहन्छ
र, सरकार छ भन्ने बोध हुन्छ ।
लकडाउनको आदेश दिएर
चार महिनादेखि बेपत्ता थियो सरकार
रोग, भोक, शोक, भय र चिन्ताले
विह्वल गरिवका आँशुको भेलसँगै
बगे जस्तै लापत्ता थियो सरकार
अछामको पहिरोमा पुरिएर
हराए जस्तै अज्ञात थियो सरकार ।।

रहस्योद्घाटन गर्दै निषेधाज्ञा जारी भयो
सँघार नाघेर, दस नङग्राखियाइ
जिन्दगी धान्न प्रतिबन्ध लगाए पछि
सरकार छ भन्ने महसुस भयो ।।।

सरकार !
अब यस्तो निषेधाज्ञा जारी गरियोस्
भोक माथी रोक लगाइयोस्
भोक माथी प्रतिबन्ध लगाइयोस्
भोकलाई अस्वीकृत गरियोस्
भोकलाई वर्जित गरियोस्

सरकार !
भोक विरुद्ध निषेधाज्ञा जारी गरियोस्

५ भदौ २०७७
ढोलाहिटी, ललितपुर