रामेछाप । प्रहरी हिरासतमा रहेका रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कामाथि प्रहरीले ठगीको मुद्दा समेत अघि बढाएको छ । शरीर बन्धक अभियोगमा प्रहरी हिरासतमा रहेका खड्कालाई ठगी मुद्दामा पनि पक्राउ पुर्जी जारी गरिएको छ ।
खड्काविरुद्ध परेको ठगी मुद्दामा अनुसन्धान गर्न पक्राउका लागि प्रहरीले रामेछाप जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको छ । प्रहरी हिरासतमै रहेका उनलाई ठगी मुद्दामा पनि पक्राउका लागि अनुमति लिइएको प्रहरीले जनाएको छ ।
शरीर बन्धक मुद्दामा नौ दिन अघि पक्राउ परेका खड्कालाई आइतबार ठगी मुद्दामा पनि पक्राउ पुर्जी दिने अनुमति अदालतले दिएको रामेछापका प्रहरी प्रमुख बसन्त पाठकले जानकारी दिनुभयो ।
स्थानीय शेरबहादुर खड्का लगायतको २१ रोपनी जग्गा गाउँपालिकाको नाममा पास गर्ने भन्दै अध्यक्ष खड्काले ठगी गरेको उजुरी प्रहरीमा दर्ता भएको छ । २ करोड मूल्यमा कुरा छिनिएको सो जग्गा गाउँपालिकाको लागि भनेर साली नाता पर्नेको नाममा झुक्याएर पास गरेको आरोप पीडित पक्षको छ ।जग्गा बिक्री गरे वापतको रकम हालसम्म पनि नपाएपछि पीडित पक्षले प्रहरीमा जाहेरी दिएका हुन् ।
यस अघि स्थानीय एक सडक उपभोक्त समितिका अध्यक्षलाई बन्धक बनाई खाली चेकमा जबरजस्ती हस्ताक्षर गर्न लगाएको आरोपमा अध्यक्ष खड्का विरुद्ध जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।
नौ दिन अघि पक्राउ परेका उनलाई १७ दिन हिरासतमा राखि अनुसन्धान गर्न जिल्ला अदालत रामेछापले प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले दुवै मुद्दामा एकैसाथ अनुसन्धान गर्ने भएको छ ।


