काठमाडौं, १२ भदौं । राजधानीमा खाना होम डेलिभरी नगर्न प्रहरीले निर्देशन दिएको छ । बिहीबार खाना होम डेलिभरी गर्नेहरू र सञ्चालकलाई नियन्त्रणमा लिएर अबदेखि नगर्न निर्देशन दिएको हो ।
बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौंले अनलाइन माध्यमबाट होम डेलिभरी सर्भिस दिने युजी केककी सञ्चालिका निकिता आचार्य, फुडमान्डुका सञ्चालक मनोहर अधिकारी, एम एक्सप्रेसका सञ्चालक संगम सिंह, अनलाइन बिक्री केन्द्र किरानाका सागर भट्टलगायत टेक अवे र होम डेलिभरी गर्ने व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनीहरूसँगै होम डेलिभरी गरिरहेका कर्मचारीलाई पनि काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको थियो । उनीहरूलाई केहीबेर होल्डिङ जोनमा राखेको थियो । उनीहरूलाई साँझ छोड्दै होम डेलिभरी सेवा रोक्न निर्देशन पनि दिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले ११ भदौबाट लागू भएको दोस्रो निषेधाज्ञाले सबै प्रकारका होम डेलिभरी सेवा बन्द गरेकाले नियन्त्रणमा लिएको बताए । पहिलो दिन सम्झाइबुझाई गरेर छाडिएको र निषेधाज्ञा उल्लंघन गरेर फेरि होम डेलिभरी सुरु गरेमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिने एसएसपी थापाले बताए ।
‘आजदेखि कुनै पनि खालका सेवा, होम डेलिभरी सर्भिसको आदेश छैन । योभन्दा अघिल्लो आदेशमा टेक अवे खुला थियो । तर, अहिले सबै बन्द छ,’ उनले भने, ‘खाद्यान्न पसल पनि बिहान सवा ९ बजेसम्म मात्र खुल्छन् । यिनीहरू त दिनभर चल्छन् । अब पनि यो सेवा चल्यो भने स्थानीय प्रशासन ऐनअन्तर्गत थुनामा राखेर कारबाही हुन्छ ।’
लकडाउन खुलेसँगै १ असारयता खाना डेलिभरी निर्वाध रूपमा चलिरहेको थियो । होटेल, रेस्टुरेन्ट तथा क्याफेहरूले प्याकिङ र होम डेलिभरी गरिरहेका थिए । ४ भदौदेखि सुरु भएको पहिलो निषेधाज्ञामा पनि खाना डेलिभरीमा प्रहरीले रोक लगाएको थिएन ।
तर, ११ भदौमा फेरि निषेधाज्ञा थपिएपछि भने प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर खाना डेलिभरीको काम पूर्ण रूपमा बन्द गर्ने जनाएको छ । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसपी सुशीलकुमार यादवले निषेधाज्ञा उल्लंघन गरेर खाना डेलिभरी गरेकाले नियन्त्रणमा लिएको बताए ।
डेलिभरी गर्नेहरू भन्छन्– काम भएन भने भोकै मर्छौ
राजविराजका शशिप्रसाद देव ट्युसन सेन्टरमा गणित पढाउँथे । कोरोना कहरसँगै सुरु भएको लकडाउनले ट्युसन सेन्टर बन्द भयो । पाँच जना परिवार पाल्नुपर्ने जिम्मेवारी भएका शशिप्रसादले १ असारमा लकडाउन खुकुलो भएसँगै फुडमान्डुमा खाना डेलिभर गर्ने काम सुरु गरे ।
असारयता रोकटोक विना चलिरहेको खाना डेलिभरी सेवालाई प्रहरीले बिहीबार भने रोक्यो । खाना डेलिभर गर्न हिँडेकालाई नियन्त्रणमा लियो । खाना डेलिभर गर्न हिंडेका शशिप्रसादलाई प्रहरीले केशरमहल अगाडि रोकेर नियन्त्रणमा लियो ।
पानीमा भिज्दै नियन्त्रणबाट छुट्ने आदेश पर्खिरहेका शशिप्रसाद भने, ‘ट्युसन बन्द भएपछि डेलिभरीको काम गर्न थालेको हुँ । यो पनि बन्द भएपछि मलाई परिवार पाल्नै गाह्रो हुन्छ । मेरो परिवार त भोकै पर्छ ।’
शशिप्रसाद जस्तै मोटरसाइकल, स्कुटरमा उपत्यकाभित्र खाना र अन्य वस्तु होम डेलिभरी गर्ने सयौं व्यक्तिलाई प्रहरीले बिहीबार तीन घन्टा नियन्त्रणमा लिएर छाडेको छ । साँझ ७ बजे थापाथली पुलमा प्रहरीले रोकेका सिन्धुपाल्चोकका विराज तामाङको आम्दानीको स्रोत खाना डेलिभरी नै हो । तर, प्रहरीले खाना डेलिभरी रोकेपछि उनी चिन्तामा परेका छन् । ‘पाँच जनाको परिवार छ । अब काम रोकिएपछि त के गर्ने होला ?’ विराजले चिन्ता व्यक्त गरे ।
बानेश्वर चोकमा प्रहरी नियन्त्रणमा परेका रमेश सिग्देल डेलिभरीको काम रोकिए भोकै परिने बताए । उनले भने, ‘ट्राभल एजेन्सीको जागिर गयो । अहिले यही कामले परिवार पालिरहेको थिएँ, यो पनि रोकिएपछि मेरो परिवार त भोकै मर्छ ।’
खाना डेलिभरीमा खटिएकाले डेलिभरीको काम रोकिए दैनिकी चलाउनै अप्ठ्यारो हुने बताए । ‘जोखिम छ भन्ने थाहा छ, तर हामीले पनि पेट पाल्नुपर्छ । पेट पाल्नकै लागि काम गरेका हौँ,’ केशरमहलअगाडि प्रहरी नियन्त्रणमा परेका योगेश कर्णले भने ।
लकडाउन भएसँगै खाना तथा अन्य वस्तु ग्राहकले अनलाइन माध्यमबाट खरिद गर्ने गरेका थिए । अनलाइन माध्यमबाट अर्डर गरिएका खाना तथा वस्तु डेलिभर गर्न हिंडेकालाई प्रहरीले राजधानीको मुख्य चोकहरूमा बनाइएका होल्डिङ जोनमा केही बेर राखेर छाडेको छ । नयाँ पत्रिका दैनिकबाट


