भूमिप्रसाद पाठक,
भदौ ११ गते, पथरी । मोरङको पथरी शनिश्चरेका किसानहरूले यतिबेला दोहोरो सास्ती व्यहोर्नुपरेको छ । एकातिर कोरोनाको कहरले समुदाय त्रसित छ भने अर्कोतिर धानखेतीमा गभारो अर्थात् गाउँघरे भाषामा राते लागेर ग्रामीण जनजीवन सहित आमकृषकमा खिन्नता छाएको छ ।
कोरोनाको संक्रमणबाट बच्नु आफैमा चुनौति बनेको बेला धानलाई चाहिने रसायनिक मल– युरिया किन्न घण्टौंसम्म लाइन लाग्नुपरेको छ भने मल किन्दा सन्तुर साबुन अनिवार्य किन्नुपर्ने वाध्यकारी अवस्था सिर्जना भएको छ । बिहीवार पथरी बजारस्थित मुना कृषि भण्डारले उक्त मल विक्रि गरेको थियो । १ सय ५० बोरा युरिया बिक्री–वितरण गरेको जनाए पनि बिहानदेखि लाइन बसेका अधिकांश किसानले भने मल किन्न पाएनन् ।
प्रति व्यक्ति २० किलो मात्र उपलब्ध गराइएको भारतीय कम्पनीद्वारा उत्पादित मलको खरिदमा नेपाली रिटेल मूल्य लेखिएको सन्तुर साबुन अनिवार्य किनिदिनुपर्ने विषयले कृषक मात्र होइन, स्थानीय समेत समुदाय समेत अचम्मित बनेको पाइन्छ । यति हुँदाहुँदै पनि अहिलेको खाँचो भनेको मलको हो भनेर मल पाउने आशमा भोकभोकै लाइन बसेको २ घण्टापछि मल सकिएको जानकारी पाएसँगै रित्तै हात घर फर्किनु परेको पथरी शनिश्चरे नपा वडा नं. ३ निवासी युवाकृषक प्रकाश लुइटेलले भारी मन बनाउँदै गुनासो पोखे ।
यता तिन घण्टा लामो लाइन लागेर युरिया लिएका किसानलाई साल्ट ट्रेडिङ्गले पठाएको भन्दै सन्तुर नामको साबुन जवरजस्ती खरिद गर्न लगाइयो । पथरी शनिश्चरे वडा नं. ३ कै नवीन निरौलाका अनुसार बजार भाउ २५ रूपयाँ पनि नपर्ने साबुनलाई ग्राहकसँग ३३ रूपयाँ असुलिएको छ । ‘२० केजी युरिया किन्दा १ सय रूपैयाँको साबुन जवरजस्ती किन्न लगाइयो, नवीनले आक्रोश व्यक्त गर्दै ‘युरीया किन्दा नि अरू सामान भिडाउने यो कस्तो प्रचलन’ प्रश्न गरे ।
युरिया आएको थाहा पाएका किसानहरू विहानैदेखि पथरीको मध्यबजार क्षेत्रमा लाइन लागेर बसेका थिए । लाइनलाई व्यवस्थापन गर्न कोरोनाको संक्रमण बढ्ने भन्दै लकडाउन गरेको पथरी शनिश्चरे नगरपालिकाले नगर प्रहरी समेत परिचालन गरेको थियो ।
रसाायनिक मल युरीयाको अभावमा किसानको धान मर्न थालेका छ भने धान पोटाउने समयमा युरिया अभावकै कारण कम उत्पादन हुने चिन्ता किसानमा पिरोलो बनेको छ ।
रोग, शोक र भोक जस्तै अवस्थामा पनि चाहिने भनेको खानेकुरा अर्थात् खाद्यसाम्रागी हो, जुन वस्तु खेतमा उब्जन्छ, कृषकले उब्जाउछ । यो मानवीय संवेदनशीलतासँग जोडिएको विषय हो । राज्यको स्थानीय संयन्त्रहरूले यस्तो संवेदनशील विषयमा आफ्नो पनि संवेदनशीलता र सक्रियता बढाउनुपर्ने आवश्यकता देखियो, स्थानीय राजनीतिकर्मी युवराज बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन् ।


