जनकपुर, १७ भदौं । एकैपल्ट एक छोरा र तीन छोरीलाई जन्म दिएपछि धनुषामा एक आमाको मृत्यु भएको छ ।

चार सन्तानलाई जन्म दिएपछि महिलाको भने ज्यान गएको हो । धनुषाको विदेह नगरपालिका–७ जोगियारा टोलकी अमिरुल खातुनले जनकपुरधामस्थित काब्या अस्पतालमा मंगलबार राति १० बजेतिर शल्यक्रियामार्फत चार बच्चालाई जन्म दिएकी हुन् ।

बुधबार बिहानदेखि शवासप्रश्वासमा समस्या देखिएको खातुनलाई आईसीयूमा राखेर उपचार गर्ने क्रममा बुधबार दिउँसो ज्यान गएको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका सञ्चालक सञ्जय सिंहका अनुसार खातुनको एक छोरा र तीन छोरीको अवस्था पनि अस्थिर देखिएको छ । छोराको तौल एक किलो ५ सय ग्राम र छोरीहरुको तौल एक किलो २ सय ५० ग्राम रहेको छ । अहिले चारै जना बच्चालाई एनआईसीयूमा राखिएको सिंहले बताएका छन् ।

महिलाको मृत्यु हुनुअघि बुधबार विहान कोरोना परीक्षणका लागि स्वाब संकलन गरी जनकपुरकै प्रादेशिक प्रयोगशाला पठाइएको सिंहले जानकारी दिएका छन् ।