१८ वर्ष मुनीका दक्षिण कोरियाली राष्ट्रिय फुटबल टोलीको उपाधि खोसिएको छ। अनुशासन सम्बन्धी कारवाहीमा परेपछि कोरियाको फुटबल उपाधि खोसिएको हो।
गत बुधबारमात्र दक्षिण कोरियाली टोलीले पान्डा कपको फाइनलमा चीनलाई ३–० ले पराजित गर्दै उपाधि रक्षा गरेको थियो।
पान्डा कप चीनले आयोजना गरेको थियो। जहाँ न्युजिल्यान्ड, कोरिया, थाइल्यान्ड र चिनियाँ टोली सहभागी थिए।
कोरियाले सबै टोलीलाई पराजित गर्दै उपाधि हात पारेको थियो।
तर जित पश्चात कोरियाका एक खेलाडीले ट्रफीसँग फोटो खिचाउने क्रममा ट्रफीमाथि खुट्टा राखेपछि यस विषय विश्वभर निकै चर्चाको विषय बनेको थियो।
सामाजिक संजालमा दक्षिण कोरियाली टोलीको चर्को आलोचना भयो। जसलेगर्दा अन्ततः आयोजकले कोरियाबाट उपाधि खोस्न बाध्य भयो।
आगामी वर्ष कोरियालाई दण्ड स्वरुप खेल प्रतियोगितामा नै नबोलाउने निर्णय भएको छ। कोरियाली फुटबल संघले आफ्नो खेलाडीले गरेको भुललाई माफ गर्न भनेका थिए।
यद्यपी विश्वभरबाट अनुशासनहिन टोलीबाट उपाधि खोस्नुपर्ने आवाज उठेपछि कोरियाको उपाधि खोसिएको हो। एजेन्सी




















