काठमाडाैं,कार्तिक १३, 

 नेपाली राष्ट्रिय फुटबल टाेलीका चार खेलाडीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार सूचना निकालेर चार खेलाडीलाई कोरोना देखिएको जानकारी दिएकाे हाे ।

कोरोना महामारीबीच बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको नेपालले बिहीबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रशिक्षण थालेकाे छ । साे प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये ४ जनालाई कोरोना देखिएको एन्फाले निकालेकाे सूचनामा उल्लेख छ । खेलाडीहरूकाे नाम भने एन्फाले खुलाएकाे छैन । संक्रमित ४ खेलाडीलाई सेल्फ आइसोलेशनमा राखिएको एन्फाले जनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु प्रशिक्षणको पहिलो दिन ३० खेलाडी उपस्थित भएका थिए ।राष्ट्रिय खेलकुद परिषद (राखेप) ले एन्फालाई अनुमति दिएपछि खेलाडीहरूका लागि प्रशिक्षण सुरु भएको हो ।

नेपालले बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ । ढाकास्थित बंगबन्धु रंगशालामा पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ गते हुनेछ । दोस्रो मैत्रीपूर्ण मंसिर २ गते हुने तालिका छ ।

नेपालले साफ च्याम्पियनसिपपछि बंगलादेशसँग खेलेको छैन । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले त्यसकै तयारीस्वरूप बंगलबादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।