राधाकृष्ण देउजा
राजनीति होस वा व्यापार वा अरु कुनै क्षेत्रमा पनि सकारात्मक अनुकरणले सकारात्मक परिणाम नै निकाल्छ । तर अनुकरण अलिक नमिल्दो वा अप्रसाङ्गिक भयो भने चाहिं कुनै सिनेमाको हिरोले जाडो महिनामा ज्याकेट लगाएर सुट गर्दा राम्रो देखिएकोले त्यही हिरोको अनुकरण गर्दै कसैले वैशाखको घाममा ज्याकेट लगाउँदा जस्तो आपत हुन्छ त्यस्तै हुन्छ ।
तर यो सत्य नेपालको राजनीतिमा उनको दलसंग आवद्ध नभएका जनताले पनि आशा गरेको युवा नेता गगन थापाले चाहिं अलिक भुलेको हो कि जस्तो लाग्यो । त्यही कटु सत्य भुलेर नै हुनुपर्छ वहाँले जननेता मदन भण्डारीले तत्कालिन राजालाइ चुनाव लडन चुनौती दिएको शैलीमा महामहिम राष्ट्रपति विद्या भण्डारीलाइ “ हिम्मत भए काठमान्डौमा चुनाव लडन आइबक्स्योस” भनेर चुनौती दिएँ कि भन्ने ठान्नु भएछ ।
यद्धपि वहाँको दलसंग नै आवद्ध सुझवुझ भएकाहरुलाइ नै सोध्यो भने पनि गगन थापाको यो चुनौतीलाइ उनको व्यक्तित्व नसुहाउने , अमर्यादित र हल्का टिप्पणीको रुपमा विश्लेषण हुने पक्का छ । किन ? किन भने महामहिम राष्ट्रपति विद्या भण्डारी चुनाव भनेपछि नजानेको सामान्ती व्यक्ति हैन बरु वहाँ त जनताको अपार मायाले पटक पटक निर्वाचित हुनुभएकै नेता हुनुहुन्छ , भलै अहिले पदीय गरिमा जोगाउन र निस्पक्षता कायम गर्न वहाँले आफुलाइ राजनीतिक दौडधुपबाट टाढा राख्नु भएको छ ।
त्यसो भन्दै गर्दा वहाँलाइ नेकपाको आन्तरिक राजनीतिमा चासो राखेको भनेर लाग्ने आरोपलाइ अनदेखा गरिएको हैन तर त्यस्ता आरोपहरु सत्य नभएको तर पुरानो निकटता आधारमा हुने भेटघाटले जन्माउने आशंकाका अवयव मात्रै हुन भन्दा अन्यथा नहोला । तसर्थ , गगन थापा जस्तो आशा अपेक्षा गरिएको नेतालाइ अनुरोध छ कि राजनीतिक भाषणलाइ कर्ण प्रिय बनाउन हलुका कुरा गर्ने , मर्यादित संस्थाहरुको विरुद्ध आवाज बुलन्द गर्ने काम गरेर आफैंलाइ मजाक नबनाउनुस ।
अझै जनताको छोरी समेत भनेर चिनिएको , पटक पटक काठमान्डौकै जनमत पाएर जनप्रतिनिधि भैसक्नु भएकी विद्या भण्डारीलाइ चुनाव लड्न दिइएको चुनौतीलाइ वहाँले स्वीकार गर्नु भयो भने स्वयम गगन थापालाइ गतिलो पराजयको झड्का लाग्ने ठोकुवा नै गर्न सकिन्छ । गगन थापा जत्तिको नेताले बुझेको राम्रो कि विद्या भण्डारी समकालीन राजनीतिमा रहेका धेरै भन्दा लोकप्रिय अनि तल तलको जनतासँग व्यक्तिगत तहमै निकटता कायम राख्न सफल नेता पनि हुनुहुन्छ
।




















