काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अमेरिकामा रहेका नेपालीले पनि विरोध जनाएका छन्। असंवैधानिक र स्वेच्छाचारी रूपमा प्रधानमन्त्री ओली प्रतिनिधिसभा विघटन गरेको भन्दै त्यसको विरोधमा उनीहरुले न्यूयोर्कमा प्रदर्शन समेत गरेका छन्।

प्रधानमन्त्री ओलीको उक्त कदम संविधानमाथिको ‘कू’ भएको अमेरिकामा रहेका अधिकारकर्मी डण्डु ढोक्प्याले बताए। उनले असंवैधानिक र स्वेच्छाचारी रूपमा जननिर्वाचित प्रतिनिधिसभा भंग गरिनु दुखद भएको बताए।
अमेरिकामा रहेका नेपालीहरूको संस्था युनाईटेड नेपाली कम्युनिटिज इन अमेरिकाको पहलमा विरोध प्रदर्शन गरिएको उनले जनाए। विरोध जुलुसपछि स्थानीय ज्याक्सन हाइटमा आयोजित कोणसभामा सहभागीहरूले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै प्रधानमन्त्री ओलीको गैरसंवैधानिक कदमको विरोध गरेका थिए।




















