✍️ राधाकृष्ण देउजा

अलोकतान्त्रिक र असंवैधानिक संसद विगठनको विरुद्ध आज काठमान्डौमा विशाल र्याली र भव्य सभा भएछ अनि त्यो विशाल र्याली र भव्य सभालाइ नजरअन्दाज गर्दै प्रधानमन्त्री केपी ओलीले भन्नु भएछ ” काठमाडौंमा अलिअलि मान्छे जम्मा गरेछन्” ।

ल वहाँकै कुरालाइ मानौं रे , अलि अलि नै आए रे तर आउन त आए ! अनि आए पनि किन भन्दा केहि समय अगाडीसम्म उनै केपी ओलीलाइ जनताले निर्वाचित गरेको संसदको अभिभावक , जनताको प्रतिनिधिले बनाएको सविधानको रक्षकको भूमिकामा रहने प्रधानमन्त्री बनाउन मरिहत्ते गरेर लागेकाहरु आज तिनै केपी ओलीको संविधान विरोधी , लोकतन्त्र विरोधी कदमको विरुद्धमा आए ।

त्यसैले आज अरु केही नभनिकन सम्मानका साथ प्रधानमन्त्री केपी ओलीनै सोधौं “ प्रधानमन्त्री केपी ओलीज्यु जीवनभर तपाईंको सहयात्री रहेकाले तपाईंले चालेको गलत कदमको विरुद्ध बोल्दा अनि ति वोलीहरुको समर्थनमा ताली बजिरहँदा अलिकति पनि ग्लानी भएन ? संविधानको गला रेट्ने आफ्नो असंवैधानिक कदमको विरुद्ध उठेको आवाज सुन्दै गर्दा कमसेकम आफ्नो निन्दनीय वर्तमान भन्दा सम्मान योग्य विगतको पहिचानको पक्षमा उभिएर गाली हैन तालि खानुपर्छ भन्ने सत्यको वोध भएन ?”

थाहाछैन वहाँसंग यस गम्भीर सवालको लागि के उत्तर छ तर जनतालाइ थाहाछ दम्भ , अहंकार अनि दृष्टिदोषपूर्ण सल्लाहको जगमा केपी ओलीले जनताको संविधान र संसदको हत्या गर्ने मात्रै नभएर वहाँ स्वयमकै दुखले बनेको वहाँ स्वमको इतिहास र त्यसले स्थापित गरेको व्यक्तित्वको हत्या गर्नु भएको छ ।