पथरी शनिश्चरे, ७ फागुन । मोरङको पथरी शनिश्चरे वडा नम्बर १० का अपाङ्गताको समस्याले हिँडडुल गर्न अप्ठेरो परेकाहरुका लागि आज सहायता सामग्री प्रदान गरिएको छ ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा १० नम्बर वडाकी कार्यवाहक वडाध्यक्ष मैनादेवी फूयल आचार्य, वडा सचिव ताराप्रसाद ढकाल, वडा सदस्य मनकुमारी विश्वकर्मा, अनोज घिमिरे, अपाङ्गता भएका व्यक्तिहरुको नगरस्तरीय समितिका अध्यक्ष राजेन्द्र दहाल, समाजसेवी इन्द्रमाया काङ्वा, वीरबहादुर वस्नेत, सुरज राई सहितको उपस्थितीमा सहायता सामग्री वितरण गरिएको हो ।
मुनाल टोलका श्रीमान धिमाल, सयपत्री टोलकी रेवती विश्वकर्मा, त्रिवेणी टोलका मनकुमार विश्वकर्मा र मगर टोलकी दीर्घमाया मगरलाई ह्विल चियर, सेसेलुङ चोककी राममाया राईलाई पट र त्रिवेणी चोककी मण्डुकी चौहानलाई हिड्ने सहायताको स्टिक वितरण गरिएको हो । ती सामग्री प्राप्त गरेपछि अपाङ्गताको समस्या भएकाहरुले खुसी व्यक्त गरेका छन् ।
वडा कार्यालयको ५० हजार रुपैयाँको बजेटमा ती सामग्री वितरण गरिएको हो । यसैक्रममा उपप्रमुख वास्तोलाले नगरको भूमि आयोग सम्बन्धी लगत संकलन कार्य छिटो रुपमा सञ्चालनका लागि इकाई कार्यालय तथा सम्बन्धित पक्षसँग परामर्श समेत गर्नुभयो । साथै उहाँले १० नम्बर वडा कार्यालयका काम कारबाही एवम् गतिविधिका बारेमा समेत जानकारी लिनुभयो ।



















